कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताएका छन् ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही असन्तुष्टिका कारण तितरबितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठूलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरूको दायित्व भएको बताए । उनले पीडित वर्गका बालबालिकाहरूले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो की पाएन ? भन्नेकुरा मुख्य भएको पनि बताए ।

उनले भने ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् । आज एउटा गरिबको छोराले रोजगारी पायो की पाएन ?आज एउटा पीडित वर्गका बालबालिकाहरूले रोजगारी, सहज शिक्षा पायो की पाएन ? आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरू आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरूका अगाडि तेर्सिएका प्रश्न हुन् । माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यी कुराहरूको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’

उपमहासचिव शर्माले समावेशी र सङ्घीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *