सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली हुन् : रवि लामिछाने

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आईतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए ।

उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरे । केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने बताए । उनले ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने बताए ।

उनले भने– ‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर यो सरकारकोबिरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारकाबिरुद्ध यही बेलामा देशैभरबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झुटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ । केपी ओलीको शासन सत्ता रही रहेसम्म यस्ता अपराध भइरहन्छन् । भ्रष्टाचारीको संरक्षण गरेर, सारा सहकारी पीडितहरु पार्टीमा पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटो मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ ।’

उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताए ।

सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *