गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीले संयमित, सरल, सहज, इमानदार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए ।

आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे । आइतबार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्र्झाइबुझाई काम गर्न निर्देश गरे ।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

उनले भने ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमानदार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । मैले यो आग्रह गरेँ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न । अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ । छानबिन हुन्छ । हेर्नुपर्ने निकायहरूले हेर्दछन् । त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ । आफू गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानुहुन्न । ट्राफिकमा पनि म त्यो देख्छु, कहीँ प्रहरीको कमजोरी हुन्छन् । त्यस्तो गर्ने मानिसलाई पनि सम्झाईबुझाई गरेर प्रहरीले ठिक ढंगले सेवा दिनुपर्दछ । त्यसो भएको हुनाले म के आग्रह गर्न चाहन्छु भने यो ट्राफिक प्रहरीको बारेमा पनि ट्राफिक रुल्सहरुको बारेमा, नियमहरूको बारेमा सचेतना गर्न पनि जरुरी छ । तपाईँहरूले यसलाई विद्यालयसँग पनि जोड्नुभएको छ । यसलाई थप विद्यालयसँग जोड्दै जानुपर्दछ भन्ने मलाई लाग्दछ ।’

गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *