मखमली फूल र मालाको माग घटेपछि किसान चिन्तित

काठमाडौं । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा सुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याई छ ।

तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् ।

दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् । मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो ।

किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । भक्तपुर गुण्डुकी जानु कार्कीले यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताइन् ।

अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको उनले बताइन् । माला र फूलको मूल्य विगतको सरह नै रहेको उल्लेख गर्दै उनले एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताइन् । अर्की स्थानीय सुमित्रा कार्कीले फूल राम्रो नभएको गुनासो गरिन् ।

युुवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा आफाुलाई गुण्डुमा फूलको उब्जनी नै मासिने चिन्ता लागेको उनले बताइन् । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताइन् । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको उनले गुनासो गरिन् । दुःख र मेहनतअनुसार मूल्य नभएको उनको भनाई छ ।

उनले भनिन्,‘भाउ कहिले पनि बढेन । आउँदा हामीले २५ भनेपनि २० देखि दिन्न भन्छन्, उनीहरु बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन् । अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानु पर्दैन भन्ने मात्रै हो । यहाँ नै आउँछन् । पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ । दुःख र मेहनतअनुसार मूल्य छैन ।’

फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हने उनले बताइन् । २० वर्षदेखि फूलको माला बनाउँदै आएकी गुण्डुकै स्थानीय श्रृष्टी कार्कीले अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन ? भन्दै प्रश्न गरेकी छन् । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको उनले बताइन् ।

‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि । हाम्रो मूल्य नै छैन । दुःख त गरेको हो । बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधि हाल्यो,’ उनले भनिन्,‘औषधि हालिरहनुपर्छ । औषधिको मूल्य फूल भन्दा महंगो छ । औषधि ४/५ दिनमा हालि रहनुपर्छ । यो भन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त ?’

उनले किसानबाट लगेपछि व्यापारीहरुले बढी खाने गरेको बताइन् । पुस्तौँदेखि गरिरहेको भएर आफूहरुले माला बनाउन नछोडेको जानकारी दिँदै उनले भनिन्,‘हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो । बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त । अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहीँ छैन ।’

क्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आएकी किसान सानु सुनुवारले काम केही नभएर फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज हुने बताइन् ।

उनले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपैयाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताइन् । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उनको भनाइ छ ।

‘फूलको व्यापार राम्रो भएन । सधैँ १८ रुपैयाँदेखि २० रुपैयाँसम्म किनेर लैजान्छन् । कृषकलाई अलि घाटा जस्तो भयो । घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो । फूल खेती गर्न धेरै दुःख छ ।’ उनले भनिन्,‘औषधि हाल्नुपर्छ, औषधि हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ । दिदिबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ । तिहारमा माल बेचेर आफ्ना दाजुभाईलाई केही किन्न पनि सजिलो हुन्छ । कृषि कार्यक्रममहरुबाट उन्नत जातको फूलहरु हामीलाई दिए हुन्थ्यो भन्ने छ ।’

गुण्डुकै अर्की स्थानीय विनिता केसीले गुण्डुका किसान मखमली खेतीमा आवद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाइ बेच्ने गरिरहेको बताइन् ।

उनले अरु कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको बताइन् । मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको बताउँदै उनले किसानले गरेअनुसार बजारमूल्य नरहेको गुनासो गरिन् ।

उनले भनिन्,‘दिनरात नभनी फूलको स्याहार गर्नुपर्छ । किसानले गरेअनुसारको बजार मूल्य छैन । नेपालका फूल भन्दा भारतबाट आायत हुने फूलले गर्दा किसानले दुःख गरेअनुसार बजार मूल्य पाउँदैनन् । किसानले दुःख गरेअनुसार नगरपालिका, वडा स्तरबाट पनि राम्रो बीउ वितरण गर्नसके सजिलो हुन्थ्यो ।’

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् ।

सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आएका छन् । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको उनले बताए । गत वर्ष २५ सय माला बनाएकामा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउनसकेको बस्नेतले बताए ।

उनले भने,‘पहिलाको तुलनामा माला र फूल लिन आउने मान्छेहरु घटेका छन् । विचौलियाहरुले मान्छेहरु भड्काउँछन् । पहिला व्यापारीहरु आफैँ आएर फूल लिएर जान्थे । अहिले व्यापारीहरुलाई भड्काएर विचौलियाले आउन दिँदैनन् ।’

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । गुण्डुकी निर्मला बस्नेतले पहिला व्यापारीहरु घरघरमा आएर किन्ने गरेपनि अहिले नआएको बताइन् ।

घरबाटै व्यापारीहरुले ३५ रुपैयाँसम्म तिरेर लैजाने गरेको भएपनि अहिले व्यापारीलाई आउनै नदिने गरेको उनको भनाई छ । पहिला १÷२ लाखको माला बेच्ने गरेको भएपनि अहिले व्यापार नरहेको उनले बताइन् ।

‘पानी परे पनि फूल यस वर्ष राम्रो छ । फूल ढलेको छैन । अहिलेसम्म व्यापारी आएका छैनन् । माला गाँसेर गोदाम पारेर राखेको छ । एउटा विक्री भएको छैन । बरु सय पत्री फूल लगाउनुपर्ने रहेछ, त्यसबाट चाहीँ व्यापार राम्रो हुने हो । अब सय पत्री फूल दशैँलाई सिद्धिन्छ । साउनदेखि नै सयपत्री फूल जान्छ,’उनले भनिन् ।

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसानहरुले बताउने गरेका छन् ।

सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको उनीहरुको गुनासो छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *