विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा

गण्डकी । विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएका छन् । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उनले बताए ।

‘केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिनाजति भारतमा रहन्छु’, नेपालीले भने, ‘राष्ट्रगानमार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पुर्‍याउने मेरो विश्वास छ ।’ नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गरेका थिए ।

आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरू टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मनछुने खालको देखिन्थ्यो । अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरू दङ्ग परे ।

कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाउँदै आएका थिए । नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उनले सुनाए ।

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लीन रहेको नेपालीको भनाइ छ । विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन् ।

नेपाली दुई वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) मा तीन महिना बिताएर आएका थिए । कोभिड–१९ महामारीयता उनको पहिलो विदेशयात्रा त्यही थियो । उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन् । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका हुन् ।

‘शुभेच्छुक सङ्घसंस्था र महानुभावहरूको सहयोगका भरमा म यो यात्रामा छु, मसँग त घुम्नका लागि कुनै स्रोत छैन, सहयोगको याचना गर्दै हिँड्छु, यसरी नै चलेको छ’, उनले भने । नेपालीको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे ।

‘आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ’, नेपालीले विगत सम्झिए । उनले चार वर्षअघि पहिलोपटक राष्ट्रगान यात्राका क्रममा भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए ।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उनको लक्ष्य पूरा हुने देखिएको छैन । कोभिड–१९ महामारी, आर्थिक मन्दी आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए ।

जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ । ‘मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन’, नेपालीले भने ।

बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने चाहना उनमा छ ।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोजेर गाउने गर्दै आएका छन् । एक सय ९५ देशका राष्ट्रगान र तिनका धून सङ्कलन गरिसकेको उनको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको नेपालीको अनुभव छ । ‘सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउनसक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ’, नेपालीले भने, ‘सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारेर गाउने गरेका छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *