के हो रविमाथि लागेको संगठित अपराध मुद्दा ?

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलमा पनि मुद्दा चलाइने भएको छ । सूर्यदर्शन सहकारी ठगीमा पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

त्यसो त रवि जस्तै सहकारीको रकम अपचलनमा संलग्न गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीलाई बुटवल लगिएको छ । तसर्थ रविलाई समेत लैजाने तयारी गरिएको हो । ‘पोखरामा अनुसन्धान सकिएपछि बुटवल लैजानुपर्ने हुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘बुटवलमा पनि रवि र छविसहित संलग्नहरूको पूरक अभियोग जान्छ ।’

यसअघि रवि लामिछाने गृहमन्त्री हुुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो । अभियोगपत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो । ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उहाँसँग सामान्य सोधपुछसमेत गरिएको थिएन । तर, अहिले पूर्वडिआइजीसमेत रहनुभएका छविलाल जोशीलाई लगेर दोस्रो चरणको अनुसन्धान इलाका प्रहरी कार्यालय बुटवलले अगाडि बढाएको हो । सूर्यदर्शन सहकारी ठगीको आरोपमा यसअघि जोशीलाई पनि प्रतिवादी बनाइएको थिएन । तर, सहकारीसम्बन्धी संसदीय छानविन समितिले पाँचवटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिश गरेपछि उहाँमाथिको कारबाही अगाडि बढेको हो ।

सुप्रिम सहकारी ठगीमा रविमाथिको आरोप के छ ?
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ । बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको यसअघिकै अभियोग पत्रमा उल्लेख छ । उक्त अभियोग पत्रमा पूर्व-गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । तर, उहाँको नाममा दुई करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ । यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ । जुन मिसिल अहिले पनि अदालतमै छ । यसअघि मुद्दा दायर गर्दा लामिछानेसँग प्रहरीले सामान्य सोधपुछ गरेर कागजसमेत गरेको थिएन । गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक मध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको थियो । पछि संसदीय छानविन समितिले पनि उहाँको संलग्नता रहेको पुष्टि गर्‍यो । यसरी रकम अपचलन गर्ने कम्पनीमा लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ । यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ । २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उहाँको नाममा कायम भएको थियो ।

यस्तै, लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१-००१-१०५-००००२२४ मा दुई करोड रुपैयाँ निकासा भएको देखिएको छ । मिसिलमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले एक करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।’ सोही विषयमा सोधपुछ गर्नका लागि इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई पनि झिकाउने भएको हो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा हुनुहुन्छ । शुक्रबार नै काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेको औपचारिक बयान अझै सुरु भएको छैन । आइतबार म्याद थपका लागि अदालत लैजाँदै बेलुका भएको थियो । सोमबार उहाँसँग सम्बन्धित कागजात प्रमाणीकरण गर्न विभिन्न कार्यालयलाई पत्राचार गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार औपचारिक बयान सुरु भएको छैन ।

चितवनको सहारामा पनि अनुसन्धान गरिने
सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको र थप अनुसन्धान गर्नुपर्ने यसअघिकै अभियोग पत्रमा उल्लेख छ । चितवनको भरतपुर महानगरपलिका-३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा जिबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध पहिलो चरणमा मुद्दा दायर भएको छ । ४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण भने प्रहरीले सम्बन्धित निकायबाटै पाउन नसकेको अभियोग पत्रमा उल्लेख छ ।

सहकारीको रकम अपचलन गरेर जम्मा गरिएका केही खाताको विवरण राष्ट्र बैंक र अन्य केही बैंकले नै प्रहरीलाई उपलब्ध नगराएको जनाइएको छ । सहकारीबाट विभिन्न कम्पनीहरूमा समय समयमा रकम गएको देखिएको र यसरी खुलेका कम्पनी तथा प्रालिहरूको समेत बैंक खाताको बैंक स्टेटमेन्ट माग गरिएको थियो । बैंक स्टेटमेन्टको एक्सेल सिट सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा माग गरिएको थियो ।

‘सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, को-को सँग भएको हो, सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरूको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो,’ अभियोग पत्रमा भनिएको छ ।

मुद्दाको हदम्यादसमेत विचार गरेर अहिलेकै अवस्थामा उल्लिखित कम्पनी र पदाधिकारीहरूका सम्बन्धमा निर्णयमा पुग्न नसकिने देखिएको हुँदा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले पुनः अनुसन्धान गरी पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने पनि सरकारी वकिल कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ ।

के हो रविमाथि लागेको संगठित अपराध मुद्दा ?
रविमाथि लागेको संगठित अपराध के हो ? भन्ने विषयमा धेरैमा कौतुहलता छ । तीन वा सोभन्दा बढी व्यक्तिहरू मिलेर गरिने अपराध नै संगठित अपराध भएको कानुनका ज्ञाता बताउँछन् । विद्यमान कानुनअनुसार तीन जनाभन्दा धेरैको समूहमा गरिने सबै अपराध भने संगठित अपराध होइन । अपराध गर्दाको बखत उनीहरूले गर्ने क्रियाकलापको आधारमा संगठित अपराधलाई बुझ्न सकिने कानुनविद्हरू बताउँछन् । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेको सन्दर्भमा उहाँ पक्राउ पर्नुअघि सहकारी ठगी मुद्दामा पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा सोही प्रकरण संगठित तरिकाले अपराध भएकाले उहाँमाथि संगठित अपराधको मुद्दा पनि समावेश गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त शर्मा भन्नुहुन्छ, ‘पूर्व-गृहमन्त्रीविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।’ पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताहरूले राखेको पैसा गोर्खा मिडियामा लैजाने क्रममा योजनाबद्ध धेरै मानिसहरू संलग्न गराएको हुनाले उहाँमाथि पनि संगठित अपराधको मुद्दा आकर्षित भएको कानुन व्यवसायीहरूको भनाइ छ । सोही मुद्दामा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई यसअघि नै पक्राउ गरेर अहिले उहाँमाथि बयान लिने क्रम जारी छ । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *