पुर्ख्यौली पेसालाई अँगाले, विदेशसम्मै फैलाए दिल सेरामिक्सका ब्रान्ड (भिडिओ)

काठमाडौँ । अहिले प्लास्टिकका भाँडाहरूको प्रयोग बढेसँगै माटोका भाँडाले बजार पाउन छाडेको छ । प्लास्टिकका भाँडाहरू सस्तो, बलियो र सहज रुपमा बजारमा उपलब्ध हुने भएकाले यसप्रति मानिसहरूको आकर्षण बढ्दै गएको हो । फलस्वरुपः माटाका भाँडाहरू लोप हुने अवस्थामा पुगेका छन् । तर हाम्रो समाजमा यस्ता कोही कोही पेसाकर्मी छन्, जसले गर्दा माटोका भाँडाले आफ्नो अस्तित्वलाई जोगाउन सफल भएको देखिन्छ ।

बद्लियो समयसँगै बजारको माग र आवश्यकतालाई बुझेर उनीहरूले आफ्नो पेसालाई बचाएर राखेका छन् । ती नै मध्य एक उदाहरणीय पात्र हुन्, कमेरोटार मध्यपुर ठिमी, भक्तपुरका ४९ वर्षीय दिलबहादुर प्रजापति ।

दिलबहादुर प्रजापति दिल सेरामिक्सका सञ्चालक हुन् । माटोको भाँडा बनाउने काम उनको पुर्खौली पेसा हो । उनका बुबाले माटोका गमला, खुत्रुके, दियो र पालाहरू बनाएर बेच्नु हुन्थ्यो । उनले बुबा र हजुरबुबासँगै माटोको भाँडा बनाउने काम सिकेका हुन् । तर उनले बुबा र हजुरबुबाले जस्तै भाँडा बनाएनन् । बजारको माग र आवश्यकतालाई बुझेका त्यसमा केही फरक गरे । उनले सेरामिक्सका भाँडा बनाएर बेचे ।

उनले वि.सं २०५५ सालदेखि सेरामिक्सका भाँडा बनाउन सुरु गरेको मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङसँगको कुराकानीमा बताए । हाल उनले सेरामिक्सका भाँडा बनाउन थालेको पनि २५ वर्ष भएको छ ।

उनले यो पेसा हेर्दा सजिलो जस्तो लागेपनि गर्न एकदमै गाह्रो भएको बताए । उनले आफूले पनि एक वर्षसम्म एसओएसमा तालिम लिएको र काम गर्दै सिक्दै यहाँसम्म आइपुगेको बताए ।

उनले भने ‘यो पेसा गर्न गाह्रो छ । सिक्न नै गाह्रो छ । सेरामिक्सका भाडाहरू २/३ वर्ष काम नगरीकन सिक्नै सकिँदैन । हेर्दाखेरि सजिलो छ तर काम गर्न धेरै गाह्रो छ । मैले पनि १ वर्ष त तालिम नै लिए । तालिम लिएपछि एक/दुई वर्ष कम गरे । काम गर्दै सिक्दै यस्तै गर्दै गर्दै आज म यहाँसम्म आइपुगे ।’

उनले यो पेसा गर्नका लागि लगानी धेरै आवश्यक नपर्ने बताए । उनका अनुसार यो व्यवसाय गर्न चाहने व्यक्तिले सेरामिक्स कला भएमा ४-५ लाखबाट नै सुरु गर्न सक्छन् ।

पहिले सेरामिक्सकका भाँडालाई पोल्न मट्टितेलको प्रयोग गरिने उनले जानकारी दिए । उनले मट्टितेल धेरै महँगो भएपछि विद्युत् प्रयोग गरिएको सुनाए । तर अहिले सरकारले विद्युतको महसुल पनि बढाउँदा व्यवसायीहरू मर्कामा परेको उनी बताउँछन् ।

उनी भन्छन् ‘पहिले मट्टितेलबाट पोलिन्थ्यो । मट्टितेल धेरै महँगो भएर विद्युत्मा गएको । अहिले विद्युत् पनि बढेको छ । पहिले हामीले चलाउँदा ५,६ रुपैयाँ थियो युनिटको । अहिले सरकारले त्यो रेटलाई दोब्बर गरिदिएर ११, १२ रुपैयाँमा पुर्‍याएको छ ।’

कसरी बन्छन् सेरामिक्सका भाँडा ?

कुमाले दिलबहादुर प्रजापतिका अनुसार एउटा सेरामिक्सका भाँडा तयार हुन १० देखि बाह्र दिनसम्म लाग्छ । उनले सेरामिक्सका भाँडा बनाउन सुरुमा माटो चाल्नु पर्ने बताए । त्यसपछि उक्त माटोलाई मेसिनमा पेल्नुपर्छ ।

उनले माटोका भाडाहरू यहीँको माटोले बन्ने भए पनि सेरामिक्सका भाँडा बनाउन भारतबाट माटो झिकाउनु पर्ने बाध्यता रहेको बताए ।

उनले माटोलाई घोलेर चाल्नु पर्ने बताए । उक्त माटोलाई सुकाउन १ महिना लाग्ने उनको भनाई छ । माटो सुकिसकेपछि मेसिनमा हालेर पेल्नुपर्छ । अनि मात्र सेरामिक्सका लागि माटो तयार हुन्छ ।

त्यसपछि उक्त सुकेको माटोलाई चाङ बनाएर राखिन्छ । त्यसरी राखिएको माटोलाई आवश्यकता अनुसार मेसिनमा पेल्नुपर्छ । त्यसपश्चात् इच्छा अनुसार माटोलाई भाँडाको आकार दिन सकिन्छ ।

प्रजापतिले पहिले मेसिन नहुँदा खुट्टाले नै माटो मास्ने गरेको सुनाए ।

उनले काँचो माटोबाट सेरामिक्सको भाँडा बनाउन १ दिन लाग्ने बताए । उनले एक दिनमा ८०–१०० ओटा कपहरूलाई आकार दिइने गरेको जानकारी दिए ।

भाँडा बनाइसकेपछि भोलिपल्ट फिनिसिङ गरिन्छ । फिनिसिङ पश्चात् भाँडालाई २ दिन सम्म त्यत्तिकै राख्नुपर्ने हुन्छ । सेतो भएपछि मात्र उक्त भाँडालाई घाममा सुकाउन मिल्छ ।

उनले माटोको भाँडो बनाइसकेपछि गार्भिङको काम गरिने जानकारी दिए । उनले विभिन्न समयमा फरक फरक तापक्रममा भाँडाहरूलाई पोलिने बताए । उनले पोलेको भाँडा पाक्न करिब ६ दिन लाग्ने जानकारी दिए ।

व्यवसायी प्रजापति नेपाल सेरामिक्स सहकारी संस्थामा आबद्ध छन् । उनले सेरामिक्सका भाँडा बनाउन आवश्यक माटो संस्थाले नै भारतदेखि आयात गरिदिएको बताए । उनले सो संस्थाले नै उनीहरूलाई हालसम्म माटो उपलब्ध गराइरहेको जानकारी दिए ।

सेरामिक्सका भाँडाहरूको माग र पूर्ति

प्रजापतिका अनुसार नेपालमा अहिले सेरामिक्सका भाँडाहरू धेरै बिक्री हुने गरेका छन् । उनले नेपालमा उत्पादन गरिएका सेरामिक्सका भाँडाहरू स्वदेशमा मात्र नभई विदेशमा पनि बिक्री गरिने जानकारी दिए । उनका भाँडाहरू नेदरल्याण्ड, पोेल्याण्ड र अमेरिकामा पनि निर्यात गरिने उनको भनाइ छ ।

उनले भने ‘विदेशमा पनि जान्छ, नेदरल्याण्ड , पोल्याण्ड अमेरिका जान्छ । नेपालमा पनि धेरै मार्केट छ अहिले । बजारमा यसको माग धेरै छ । माग अनुसार पूर्ति गर्न सकेको छैन मैले ।’

उनले आफूले विश्व बजारमा सेरामिक्सका भाँडाको माग अनुसारको पूर्ति गर्न नसकेको बताए । सेरामिक्सका व्यवसायबाट उनले परिवारसहित १० जनाले रोजगार पाएको बताए ।

कस्ता भाँडा बनाइन्छ दिल सेरामिक्समा ?

सञ्चालक प्रजापतिका अनुसार दिल सेरामिक्समा किचेनवेयरका सामानहरू बनाइने गरिन्छ । जुन रेस्टुरेन्टहरूमा प्रयोगमा आउने गर्दछन् ।

‘हामी रेस्टुरेन्टहरूमा आवश्यक पर्ने सामानहरू डिनर पेल्ट, कप बनाउँछौँ । अर्डर अनुसारको अवश्य पर्ने सबै सामानहरू बनाउँछौँ ।’ उनले भने ।

विश्वबजारमा दिल सेरामिक्स

प्रजापतिले महागुठी नामक संस्थानले आफ्नो उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउन सघाएको बताए । उनका अनुसार महागुठी संस्थानले प्रजापतिका ७५ प्रतिशत उत्पादनलाई विश्वबजारमा निर्यात गरिदिएको छ ।

प्रजापतिले निर्यात वस्तुहरूको मूल्य वस्तु अनुसार फरक फरक हुने बताए । भने ‘मूल्य हेरि हेरि हुन्छ । २ सय, साढे २ सय मूल्य पर्ने कपहरू पनि छन् ।’

उनले आफूले सेरामिक्स सिप सिकेका कारण आफ्नो सामान बिक्री गर्न दसैँ तिहार कुर्नु नपर्ने बताए । उनले सेरामिक्सका भाडाहरू बाह्रैमासे बिक्री हुने बताए ।

उनी आफ्नो पेसाबाट एकदमै सन्तुष्ट रहेको जनाए ।

सेरामिक्स व्यवसायबाट लाखौँको कारोबार गर्छन् प्रजापति

सञ्चालक प्रजापतिले हाल उनको व्यवसाय १२/१५ लाखसम्म पुगेको जानकारी दिए । उनले आफ्नो मासिक आम्दानी यति नै भन्ने यकिन नहुने बताए । उनले यस व्यवसायबाट यति नै आम्दानी हुन्छ भनेर नभने पनि २०-२५ प्रतिशत नाफा हुने जानकारी दिए ।

सञ्चालक प्रजापतिका अनुसार यस पेसा व्यवसायमा अवसरहरू सँगसँगै धेरै समस्याहरू रहेका छन् । उनले सेरामिक्सका भाँडा बनाउन आवश्यक कुनैपनि सामानहरू नेपालमा उपलब्ध नरहेको जानकारी दिए ।

उनले सेरामिक्सका भाँडा बनाउन आवश्यक माटोदेखि केमिकलसम्मका कच्चा पदार्थहरू भारतबाट आयात गर्नुपर्ने बाध्यता बताए ।

उनले भने ‘ यहाँ त काम मात्र हुन्छ । हामीलाई आवश्यक पर्ने कुनैपनि सामान नेपालमा छैन । माटोदेखि लिएर केमिकलहरू सबै भारतबाट ल्याउनुपर्छ । सरकारले अलि हेर्दिए मात्र हो । नत्र धेरै समस्या छ यसमा ।’ उनले आफ्नो भनाइलाई पुनः निरन्तरता दिए । भने ‘ विदेशबाट ल्याउने सामान त महँगो हुने नै भयो । तर सरकारले नेपालमै उत्पादन गरिने विद्युत् पनि सस्तोमा दिएन ।’

उनले सरकारले उद्योगीहरूलाई नेपालमा भएको विद्युत् पनि सस्तोमा नदिएको गुनासो गरे ।

सरकारसँग माग

‘नेपालमा भएको विद्युत् हामीलाई सस्तोमा दियो भने सहज हुन्थ्यो । भारतमा ४ रुपियाँमा पाउने माटो यहाँ आइपुग्दा ४० रुपियाँ पुग्न जान्छ । त्यहाँ २ हजार/२५ सयमा पाउने कलरहरू यहाँ आइपुग्दा ७ हजार /८ हजार पर्न जान्छ । जस कारण भारत र चीनसँग हामी प्रतिस्पर्धामा उत्रन सकी रहेका छैनौँ ।’ उनले भने ।

उनले सरकाले व्यवसायहरूलाई सहज वातावरण निर्माण गर्न नसकेका कारण सेरामिक्स व्यवसायमा भारत र चीनसँग प्रतिस्पर्धामा उत्रन नसकेको गुनासो गरे ।

सरकारले उद्योगीहरूलाई विद्युत् सस्तोमा उपलब्ध गराइदिए व्यवसायहरूलाई धेरै सहज हुने प्रजापतिले बताए ।

उनले भारतबाट सामान ल्याउँदा भन्सार छुट गरिदिन सरकारलाई आग्रह गरे ।

प्रजापतिको अबको योजना के छ ?

सञ्चालनै प्रजापतिले हालसम्म खास्सै ठुला योजना नरहेको बताए । उनले व्यवसायलाई यहाँभन्दा माथि उठाउन विद्युतले नपुग्ने जानकारी दिए ।

उनले भने ‘ हामीलाई विद्युत् पुग्दैन । सरकारले हामीलाई दिनको २० किलो वाड मात्र विद्युत् दिएको छ । त्यति विद्युतले दिनको १ समय मात्र काम गर्न मिल्छ । कि त सरकारले विद्युत् बढाइदिनुपर्यो ।’

उनले नेपाल सरकारलाई सेरामिक्स क्षेत्रमा चिन र भारतसँग प्रतिस्पर्धा गर्नका लागि सहज वातावरण तयार गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *