शुक्लाफाँटाले जित्यो महिला भलिबल कपको उपाधि
कञ्चनपुर । बझाङ उद्योग वाणिज्य सङ्घ कप २०८१ महिला खुला भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।
बुधवार सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा बझाङ बित्थडचिर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटाले उपाधि जितेको हो ।
शुक्लाफाँटाका टिम म्यानेजर बहादुर सिंह महराका अनुसार पहिलो सेट २५–२२, तेस्रो सेट २५–९ र चौथो सेट २५–१२ अङ्कले शुक्लाफाँटाको टिम विजयी भएको छ ।
बित्थचिरले दोस्रो सेट २५–८ अङ्कका साथ जितेको उनले जानकारी दिए । प्रतियोगिताको विजयी शुक्लाफाँटाले रु एक लाख दुई हजार ८१ नगद पुरुस्कार प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो बित्थडचिरले रु ५२ हजार ५१ नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितमा तेस्रो हुनेलाई रु २२ हजार ८१ र सान्त्वना प्राप्त गर्नेलाई रु पाँच हजार पाँच सय ८१ पुरस्कार प्रदान गरिएको छ । खेलाडीको अथक मिहिनेत र अनुशासनको प्रयासले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको महराले बताए ।