रास्वपाको आन्दोलनप्रति एमालेको आपत्ति, सांसदहरू नै सडकमा जानु गैरकानुनी !

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले रास्वपाको सडक आन्दोलनप्रति आपत्ति जनाएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा सडक आन्दोलन भएपछि एमालेले आपत्ति जनाएको हो ।

बिहीबार एमाले महासचिव शङ्कर पोखरेलले एक विज्ञप्ति जारी गर्दै छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘संसद्मा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहण गरी सरकारलाई कार्यान्वयन गर्न निर्देशन गरेको थियो । उक्त प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य हो’ एमालेले भनेको छ ।

संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औँल्याएको विषयमा छानिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको एमालेको ठहर छ ।

कानुनले अनुसन्धान गर्ने र अभियोजन गर्ने छुट्टाछुट्टै निकायको व्यवस्था गरेको र नेपाल प्रहरीले प्राप्त अधिकार अन्तर्गत अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको एमालेले जनाएको छ ।

राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको एमालेले जनाएको छ । यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैर कानुनी कार्य भएको एमालेको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *