श्रीलंकालाई हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । नेपालले शानदार जित निकालेसँगै नेपाल समूह विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् । यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।

अब नेपालले घरेलु मैदानमा च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *