रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान अघि बढ्ने भएको छ । कास्की जिल्ला अदालतले बिहीबार सहकारी ठगीसम्बन्धी अपराधमा पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले अदालतसमक्ष २५ दिनको म्याद थपको माग गर्दै प्रतिवेदन पेश गरेका थिए, तर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ७ दिनको मात्रै अनुमति दिएको छ । सरकारी वकिलहरूले बयान प्रक्रिया अधुरो रहेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कागजातहरू अझै संकलन गर्न बाँकी रहेकाले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

अधिवक्ता युवराज पराजुलीका अनुसार अनुसन्धानको लागि बैंक स्टेटमेन्ट, सम्पत्ति विवरण, र कर विवरणजस्ता आवश्यक कागजातहरू जुटाउन समय लाग्ने भएकाले थप म्यादको माग गरिएको थियो । यो मुद्दामा सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईंमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने अनुमति दिइएको छ । लामिछाने र जोशीसँगै पक्राउ परेका पछाईं अहिले हिरासतमा छन् ।

अदालतको निर्णयसँगै अब लामिछाने, जोशी, र पछाईंविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण तीनवटै मुद्दामा अनुसन्धान अघि बढ्नेछ । संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिन हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।

सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछाने र जोशीमाथि छ । लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *