दाना आँधीले भारतमा ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौं । भारतमा चक्रवाती आँधी ‘दाना’ का कारण विभिन्न क्षेत्रमा असर देखिन थालेको छ । भारतको मौसम विभागले यसअघि नै बिहीबार पश्चिम बंगाल र ओडिशामा आँधीको तीव्र प्रभाव देखापर्नसक्ने चेतावनी दिएको थियो ।

ओडिशाको तटीय क्षेत्रमा भारी वर्षासहित आँधी प्रवेश गरिसकेको छ । आँधीका कारण तीनवटा माछा मार्ने डुंगा पल्टिँदा १६ जना माछुवाहरू हराइरहेका छन् भन्ने समाचार बाहिर आएको छ ।

दाना आँधीले हालसम्म भारतभर ३०० भन्दा बढी उडान रद्द हुनुका साथै ५५० भन्दा बढी रेल सेवा स्थगित गराएको छ । कोलकाता र भुवनेश्वर विमानस्थललाई पनि १५ घण्टाका लागि बन्द गरिएको छ ।

राहत र उद्धारका लागि भारत सरकारले २८८ वटा टोली तैनाथ गरेको बताएको छ । आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालयहरू बन्द गर्ने निर्देशन दिएको छ भने ओडिशामा पनि माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। तटीय क्षेत्रमा माइकको प्रयोग गरी सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको छ ।

ओडिशाको प्रसिद्ध पर्यटकीय स्थल पुरीबाट पर्यटकहरूलाई बाहिर निकालिएको छ, र राज्यका १४ जिल्लाका विद्यालयहरू २३ देखि २५ तारिखसम्म बन्द गरिने निर्णय गरिएको छ । आँधीको प्रभावलाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *