तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन
दाङ । तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन,भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सो अवधिमा रु तीन करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो ।चालु आर्थिक वर्षमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको प्रमुख घर्तीले बताइन् । हालसम्म उल्लेख्य रुपमा राजश्व संकलन भएको उनले बताइन् ।
राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।चालु आर्थिक वर्षमा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् ।
गत आथिक वर्षमा रु ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।