खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउँदै सरकार

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको बताएका छन् ।

रेडियो सिमाञ्चलको शनिवार वीरगञ्जमा एक कार्यक्रमबीचको उद्घाटन गर्दै उनले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्‍याउने योजनामा सरकार रहेको बताए ।

मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको बताए ।

यसैगरी उनले काठमाडौँवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा रु २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए । सो कार्य पूरा भएपछि काठमाडौँवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो ।

“सुन्दरीजलबाट काठमाडौँमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तीलाई सहज बनाई राख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडाँै लैजाने योजना बनाएका छौँ । त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाइसकेको छ, चाँडै परियोजनालाई मूर्त रूप दिनेगरी काम अगाडि बढाउँछौँ”, उनले भने ।

कार्यक्रममा रेडियो सञ्चालक नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेल, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले पत्रकारितामा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *