अनुमानका आधारमा भ्रम नफैलाउन रास्वपालाई प्रहरीको अनुरोध
काठमाडौं । कास्की जिल्ला प्रहरी कार्यालयले हिरासतमा रहेका रवि लामिछानेमाथि कुनै दुर्व्यवहार नगरेको जनाएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई कास्की प्रहरीले हिरासतमा दुर्व्यवहार भएको आरोप सत्य नभएको कास्की प्रहरीको दाबी छ ।
एक विज्ञप्ति जारी गर्दै प्रहरीले लामिछानेलाई हिरासतमा दुर्व्यवहार भएको रास्वपाको आरोपप्रति कास्की प्रहरीले आपत्ति जनाएको छ ।
प्रहरीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कास्की प्रहरीले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देश मात्र सम्प्रेषण गर्न रास्वपालाई अनुरोध गरेको छ ।