रास्वपाको अनौठो चरित्र– दिनभरि गाली, साँझ प्रधानमन्त्रीसँग गुहार !

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

कार्त्तितक दुई गते पक्राउ परेका उनी अझै केही समय हिरासतमै रहने निश्चित प्राय छ । तर, रास्वपाका कार्यकर्ताहरू भने रविको रिहाइको माग गर्दै सडक आन्दोलनमा छन् । रवि पक्राउ परकै दिनदेखि रास्वपाका सांसद, केन्द्रीय सदस्यसहितका नेताहरू सडक आन्दोलनमा छन् ।

पोखरामा जनताले साथ नदिएपछि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । कहिले माइतीघर पुगेर आन्दोलन गर्छन् त कहिले बालुवाटार पुग्छन् । र प्रधानमन्त्रीलाई तल्लो स्तरमा झरेर गाली गर्छन् ।

रास्वपाका नेता कार्यकर्ताहरू काठमाडौँसहितका सडकमा चर्कोसँग ‘केपी चोर देश छोड’, ‘राजनीतिक प्रतिशोध साँध्न पाइँदैन’, ‘दुई तिहाइको दम्भ नदेखा’ लगायतका चर्का चर्का नारा लगाउँछन् ।

तर, साँझ भने उनै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्छन् । रास्वपाका शीर्ष नेताहरू हिरासतमा रहेका आफ्ना सभापतिलाई छुटाइदिन आग्रह गर्दै बालुवाटार पुग्ने गरेको खुलासा भएको छ ।

रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री ओली र गृहमन्त्रीलाई भेटेको खुलासा भएको छ । दिनभरि प्रधानमन्त्रीलाई गाली गरेर साँझ उनै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि राजनीतिक वृत्त तरङ्गित छ ।

दिनभरि ओलीविरुद्ध चर्को नाराबाजी गरेर साँझ ओली नै भेट्न बालुवाटार पुगेपछि एमाले केन्द्रिय सदस्य विष्णु रिजाल सन्तुष्ट छैनन् । उनले रास्वपाका नेताहरूले प्रधानमन्त्रीलाई भेटेको खुलासा गर्दै रास्वपामाथि नैतिक पश्च उठाएका छन् ।

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, सब बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *