रूबी खान र गृहमन्त्रालयबीच सहमति भएसंगै आन्दोलन स्थगित

काठमाडौं । गृह मन्त्रालयले रुबी खानसंग तीन बुँदे सहमति गरेको छ । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा मंगलबार दिउँसो अधिकारकर्मीहरुसँग भएको छलफलपछि सहमति भएको हो ।

माइतीघर मण्डलस्थित प्रदर्शनस्थलमै पुगेर मन्त्रालयका उपसचिव दिलकुमार तामाङले आन्दोलनको नेतृत्वकर्ता रुबी खानसँग सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिमा गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् । सहमतिमा हस्ताक्षर हुँदा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी अधिकारकर्मी विजयबाबु शिवाकोटी, मोहम्मद शेर बागवान, वसन्त रन्जितकार र मनकुमारी गुरताल साक्षी बसेका छन् ।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ ।

‘विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने’ सहमतिमा भनिएको छ ।

सहमतिको दोस्रो बुँदामा आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, बाँकेलाई लेखी पठाउने तथा तेस्रो बुँदामा अधिकारकर्मीहरुको आन्दोलन स्थगित गर्ने उल्लेख छ ।

अधिकारकर्मीहरुले कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस लुम्बिनी प्रदेश सांसद् बादशाह कुर्मी संलग्न रहेको बताउँदै आएका छन् ।

हेर्नुहोस् सहमति पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *