सुपारी निर्यात गर्नुपर्नेमा राष्ट्रिय सभा सदस्यहरूको जोड

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले नेपालमा उत्पादित सुपारी निर्यात गर्नुपर्ने भन्दै त्यसका निम्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभा सदस्यहरूले सुपारी निर्यातमा जोड दिएका हुन् ।

उनीहरुले नेपालमा उत्पादित सुपारी छिमेकी मुलुक भारतमा निर्यात हुन नसक्दा अवैध रूपमा निर्यात भइरहेको बताए । अवैध रूपमा भन्सार बाहिरबाट निर्यात हुँदा किसानलाई मर्का परिरहेको र राजश्व समेत गुमिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सुपारी खेतीले किसानको आर्थिक अवस्था उकास्ने भन्दै यसको निर्यात खोल्नुपर्ने बताए । उनले यसका लागि समितिको तर्फबाट नीतिगत रूपमा गर्नुपर्ने काममा आफूहरू तत्पर रहेको बताए ।

उनले भने – ‘यो पनि किसानको आर्थिक स्थिति उकास्ने कुरो हो । किसानहरूलाई सुपारीले निकै फाइदा गर्छ भने यसलाई किन नगर्ने ? सुपारीले गर्दाखेरि काहीँ मोदीजी रिसाउने हो कि भन्ने डर छ । कसरी गर्छ सरकारले गरोस् । हामी त समितिबाट तत्पर नै छौँ ।’

राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले सुपारीको सहज ढङ्गले निर्यात गर्नुपर्ने बताए । उनले किसानलाई बाधा पु¥याउनु नहुने भन्दै निकास दिनुपर्नेमा जोड दिए ।

उनले भने – ‘नेपाल भारत सिमाना खुला छ । यसले थुप्रै समस्या निम्त्याएको छ । हाम्रो किसानलाई निकास दिनुपर्छ । आयात मात्रै गर्ने निर्यात नगर्ने हो भने यो देश उँभो लाग्ने बाटो कहिले होला । हामीले हाम्रा किसानले सहज ढंगले निर्यात गर्ने ढङ्गबाट अगाडी बढ्नुपर्छ । किसानलाई बाधा पुर्याइरहनु हुँदैन ।’

राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको सम्बन्धमा गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए । उनले यसको विषयमा सरकारका विभिन्न सरोकारवाला मन्त्रालयहरूसँग र विज्ञहरूसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सुपारीको उत्पादन बढाउनुपर्ने र सही ढङ्गले निर्यात गर्नुपर्ने बताए । उनले सुपारी खेतीलाई उद्योगको रूपमा विकास गर्नसके राष्ट्रकै सफलता हुने धारणा राखे । उनले सुपारी खेतीदेखि निर्यातसम्मको प्रक्रियामा हुने समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने – ‘दुवै समितिले संयुक्त रूपमा निर्णय गर्नुपर्छ जस्तो लाग्छ । उत्पादन हामीले बढाउनु नै पर्छ । यसलाई कृषिजन्य उद्योगको रूपमा सिर्जना गर्न सक्यो भने त्यो राष्ट्रको पनि सफलता हो । त्यसैले उत्पादन बढाउनुपर्छ । निर्यात पनि सही ढङ्गले अगाडी बढाउनुपर्छ । यो दुईवटै कुरा हुनका लागि यसमा सरकारले चनाखो भएर निरीक्षण गर्नुपर्छ । समितिले पनि निरीक्षण गर्नुपर्छ । उत्पादन सही ढङ्गले भएको छ कि छैन । समस्या के छ ध्यान दिनुपर्छ ।’

त्यस्तै बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सुपारीमा बिचौलियाले चलखेल गरिरहेका कारण किसानहरू समस्यामा परेका बताए । उनले बिचौलियाले सुपारीको कारोबार भन्सार बाहिरबाट गरिरहेका कारण राज्यको राजश्व समेत गुमेको बताए ।

उनले भने – ‘उत्पादन किसानले गर्छन् । उनीहरुले बेच्न पाउँदैनन् । बिचौलियाले कारोबार गरिरहेका भन्सार बाहिरबाट । बिचौलियाको चलखेल छ । किसानहरू नमरुन् । उत्पादनले बजार भाउ पाओस् । विक्री वितरण भन्सारमार्फत होस् । राज्यको राजश्व पनि नमरोस् । बिचौलियाले किसान पनि मार्ने, सरकार पनि मार्ने, राज्यको भन्सार पनि गोलचक्करमा पार्ने भइरहेको छ । त्यसलाई समाधान गर्नुपर्छ ।’

उनले किसानले उत्पादन गरेको सुपारीले उचित बजार भाउ पाउनुपर्ने बताए । उनले सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *