एनआइएमबि एस क्यापिटलको आयोजनामा नुवाकोटमा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’
काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ ।
गिरिराज पोखरेलको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहेका थिए भने अन्य अतिथिहरूमा नुवाकोट जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए ।
१०० भन्दा बढी स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाज्यूले लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँगै नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौती र समस्याबाट जोगिने उपायहरूका साथै नेपाली शेयर बजारका विभिन्न पक्षहरूको सम्बन्धमा प्रशिक्षणमूलक अभिव्यक्ति दिएका थिए ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषता सहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो भने एनआइएमबि एस क्यापिटलले प्रदान गर्ने सेवाहरूको बारेमा समेत विस्तृत रूपमा जानकारी गराइएको थियो ।
विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो । यस अभियानले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्त्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रीकृत गर्ने कम्पनीले जनाएको छ ।