स्थानीय तह उपनिर्वाचन : तयारीमा जुटे दलहरू, एक्लै की गठबन्धन ?

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदहरुमा उपनिर्वाचन हुँदैछ । नगर प्रमुख,गाउँपालिका अध्यक्षदेखी वडाध्यक्षसम्म रिक्त स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुन गइरहेको हो । उपनिर्वाचनमा भाग लिनका लागि २५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

दलहरुले आफ्ना उम्मेदवारहरु सिफारिस समेत गरिरहेका छन् । यसैबीच नेपाली कांग्रेस स्थानीय तहको उपनिर्वाचनमा जुटेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि आफुहरुले आन्तरिक छलफल गरिरहेको प्रमुख सचेतक श्याम कुमार घिमिरेले बताए ।

मकालुखबरसंग संवाद गर्दै उनले भने,‘आसन्न स्थानीय तहको उपनिर्वाचनलाई महत्वपूर्ण रुपमा लिएका छौँ । जनमत कतातिर गइरहेको छ यसले देखाउँछ । त्यसकारण हामीले यसलाई गम्भिरतापूर्वक लिएका छौँ । गम्भिर ढङ्गले निर्वाचनमा खटिन्छौँ पनि ।’

कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचनबारे निर्णय गरिने बताउँदै पदाधिकारी तहमा छलफल भइरहेको उनले बताए । उनले अहिलेसम्म गठबन्धन गरेर निर्वाचन लड्ने पक्षमा पार्टी नरहेको बताए ।

उनले भने,‘आजसम्मको मितिमा स्थानीय तहको उपनिर्वाचन एक्लै लड्छौँ भन्ने नै छ, निर्वाचनको अन्तिम समयमा आएर के हुन्छ भन्न सकिदैन । गठबन्धन गरेर पनि निर्वाचन लड्न सक्छौँ ।’

लोकतान्त्रिक मुलुकहरुमा गठबन्धन गरेर निर्वाचन लड्न सकिने बताउँदै प्रमुख सचेतक घिमिरेले भने,‘गठबन्धन गरेर निर्वाचन लड्नु अपराध हो जस्तै गर्छन्,यो राम्रो होइन,गलत भाष्य कसैले पनि निर्माण गर्नुहुँदैन ।’ सहमति,सहकार्यका साथ अघि बढ्न सकिने उनको भनाई छ ।

यसैगरी नेकपा एमाले पनि निर्वाचनको तयारीमा जुटिसकेको छ । पार्टी सचिव छविलाल विश्वकर्माका अनुसार केन्द्रबाट आवश्यक तयारीका लागि निर्देशन दिइसकिएको छ ।‘हामीले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि तयारी गर्न आवश्यक निर्देशन दिइसकेका छौँ,सचिव विश्वकर्माले मकालुखबरसंग भने,‘तदअनुसार प्रदेश तथा जिल्ला तयारीमा जुटेर उम्मेदवार छनौट प्रक्रिया अगाडि बढेको छ ।’

यसअघि भएका प्रदेश तथा प्रतिनिधि सभा उपनिर्वाचनमा एमालेले जितेको बताउँदै यस पटकको स्थानीय तहको उपनिर्वाचनमा पनि सोही परिणाम ल्याउने गरी आफुहरु अगाडि बढेको उनले बताए ।

पार्टी सचिव विश्वकर्माले गठबन्धन गरेर निर्वाचन लड्ने तयारीमा पार्टी नरहेको पनि बताए । उनले भने,‘ गठबन्धन गरेर निर्वाचन लड्ने कुनै तयारी छैन,अहिले त्यसतर्फ सोचिएको पनि छैन । हामी आफ्नो तयारीमा केन्द्रित छौँ ।’अहिले एमाले र कांग्रेसको गठबन्धन रहेको भएपनि निर्वाचनमा स्वच्छ,स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाई छ । नेकपा एमालेले स्थानीय तहलाई थप सुदृढ बनाउन चाहेको पनि उनले बताए ।

यो पनि : स्थानीय तहको उपनिर्वाचनमा यी २५ दल सहभागि 

यस्तै नेकपा माओवादी केन्द्रले पनि स्थानीय तहमा हुन गइरहेको चुनावको तिव्र तयारीमा लागेको बताएको छ । पार्टी महासचिव देव गुरुङले मकालुखबरसंग संवाद गर्दै भने,‘नियमित प्रक्रिया अनुसार चुनावी गतिविधिहरु सञ्चालन भइरहेका छन् । निर्वाचन आयोगको सेड्युल अनुरुप कामकारबाही अगाडि बढाइरहेका छौँ ।’

यस्तै महासचिव गुरुङले गठबन्धन गरेर निर्वाचनमा जाने योजनामा आफुहरु नरहेको बताए । यद्यपि पार्टीको हित र त्यहाँको परिस्थिती अनुसार अघि बढ्न सकिने पनि उनले बताए । एक्लै नै निर्वाचनमा होमिने गरी पार्टी निर्वाचनको तयारीमा लागेको उनले बताए ।

यता पार्टी सभापति रवि लािमछाने पक्राउपछि आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि निर्वाचनको तयारीमा छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले मकालुखबरसंग भने,‘गणेश पराजुलीको संयोजकत्वमा कमिटि बनाइएको छ,कमिटिले छिट्टै नै उम्मेदवारको मापदण्ड सहितको सुझाव प्रतिवेदन पेश गर्छ । प्रतिवेदन कार्यान्वयनका दौरानमा सम्भावित ३ देखी ५ जना सम्म छनौट गर्छौ र प्राइमेरी इलेक्सनबाट छानिने व्यक्ति उम्मेदवार बनेछन् ।’

उनका अनुसार स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बनाउन रास्वपाले तीन विकल्प अघि सारेको छ । ‘आफ्नै पार्टीको उम्मेदवार उठाउने,निष्पक्ष,स्वतन्त्र,स्वच्छ छवि भएको व्यक्तिलाई उम्मेदवार बनाउने वा कुनै गैर दलिय स्वतन्त्र उम्मेदवारलाई सघाउन सक्छौँ,’ उनले भने । आन्दोलनका कारण निर्वाचनतर्फ त्यति ध्यान दिन नसकिएको उल्लेख गर्दै रास्वपा कसैसंग गठबन्धन नगरेर एक्लै निर्वाचनमा होमिने कार्यबाहक प्रवक्ता झाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि स्थानीय तहको उपनिर्वाचनको तयारी राम्रो भइरहेको बताएको छ । पार्टीका प्रवक्ता ज्ञान बहादुर शाहीले मकालुखबरसंग कुरा गर्दै भने,‘चुनावी कमाण्डर तोकेर निर्वाचनमा होमिएका छौँ,निर्वाचन हुने क्षेत्रमा प्रतिनिधि खटिएका छन्,राम्रो तयारीका साथ अघि बढिरहेका छौँ ।’

राप्रपाले कीर्तिपुर नगरपालिकाको नगर प्रमुखका लागि धु्रव महर्जनलाई उम्मेदवार समेत बनाइसकेको छ । त्यस्तै सोही नगरको वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको छ ।

प्रवक्ता शाहीले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने बताए । उनले काठमाडौंमा सबै भन्दा ठूलो पार्टी राप्रपा रहेको उल्लेख गर्दै यस पटकको स्थानीय तहको उपनिर्वाचन जितिछाड्ने दावी गरे ।

सोही अनुरुप प्रचारप्रसार व्यापक भइरहेको जानकारी दिँदै काठमाडौं र कीर्तिपुरमा चुनावी प्रचारप्रसार कार्यालय उद्धघाटन गरिसकिएको प्रवक्ता शाहीले बताए ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टी पनि स्थानीय तहको उपनिर्वाचनको तयारीमा जुटेको छ । पार्टीका उम्मेदवारलाई विजयी गराउन सात वटै प्रदेशमा कमाण्डर तोकिएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले मकालुखबरलाई बताए ।

उपनिर्वाचन परिचालन कमिटि संयोजक समेत रहेका वरिष्ठ उपाध्यक्ष पाण्डेका अनुसार कोशी प्रदेशमा जगन्नाथ खतिवडा,मधेश प्रदेशमा धर्मनाथ शाह,बागमती प्रदेशमा गंगालाल तुलाधर चुनावी कमाण्डर तोकिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा श्रीनाथ बराल,लुम्बिनी प्रदेशमा मेटमणी चौधरी,कर्णाली प्रदेशमा प्रकाश ज्वाला कमाण्डर तोकिँदा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जोशी कमाण्डर तोकिएका छन् ।

एक्लै लड्ने तयारीका साथ पार्टी अगाडि बढेको बताउँदै संयोजक पाण्डेले भने,‘राजनीतिक परिस्थिती अनुरुप पनि अगाडि बढ्नुपर्ने अवस्था आउन सक्छ । चुनावी तालमेल नहोला भन्न सकिन्न । अलि बढी सिट भएको जिल्लामा एक/दुई सिट लिएर तालमेलका साथ पनि अगाडि बढ्न सकिन्छ ।’

आयोगको तयारी तिव्र

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदहरुमा हुन गइरहेको उपनिर्वाचनका लागि तिव्र रुपमा तयारी भइरहेको जनाएको छ । अहिले मतदाता नामावलीको काम भइरहेको आयोगका सुचना अधिकारी सुमन घिमिरेले बताए ।

‘निर्वाचनका लागि मुख्य रुपमा चाहिने भनेको मतदाता नामावली हो । मतदाता नामावली यही कार्तिक २६ गते फाइनल हुँदैछ,मकालुखबरसंग उनले भने,अहिले मतदाता नामावलीमा रहेको दोहोरो नाम हटाउने काम भइरहेको छ । यो सबै कम्प्लिट भएपछि २६ गते अन्तिम मतदाता नामावली तयार हुन्छ ।’

थप : मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

सुचना अधिकारी घिमिरेका अनुसार निर्वाचन अधिकृतहरुको नाम आयोगलाई प्राप्त भइसकेको छ । निर्वाचन कार्यक्रम मंसिर २ गतेदेखी सुरु हुने उनले बताए ।

स्थानीय तहको उपनिर्वाचनका लागि मौज्दात रहेकै सामाग्री प्रयोग गरिने आयोगका सुचना अधिकारी घिमिरेले बताए । दुई वटा जिल्ला समन्वय समिति समेत गरेर सोमबारसम्म ४४ स्थान रिक्त रहेको उनले बताए । उनका अनुसार कार्तिक २६ गतेसम्म रिक्त रहन गएका पदहरुमा निर्वाचन हुने छ ।

उम्मेदवारको खर्च सीमा तोकियो

यसैबीच निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको खर्च गर्न पाउने सीमा तोकेको छ । यही कार्तिक ९ गते आयोगको बैठकले कानूनमा व्यवस्था भए बमोजिम उम्मेदवारको खर्चको सीमा तोकेको हो ।

जसअनुसार महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ ।

त्यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस्तै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । महानगरपालिकाभित्रका वडाध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपैयाँ,उपमहानगरपालिकाका वडाध्यक्षको हकमा २ लाख ५० हजार खर्च गर्न पाउने सीमा तोकिएको आयोगले जनाएको छ ।

यस्तै नगरपालिकाभित्रका वडाध्यक्ष पदका उम्मेदवारले २ लाख रुपैयाँ र गाउँपालिकाको वडाध्यक्ष पदका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्धारा उम्मेदवारका लागि खर्चको सीमा निर्धारण 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *