कारले हान्दा बाइक चालक राईको मृत्यु
उदयपुर । उदयपुरमा कारले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्यस्तै मोटरसाइकल पछाडि सवार गम्भीर घाइते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्ड चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि भएको दुर्घटनामा चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको ज्यान गएको हो ।
प्रहरीका अनुसार काठमाडौँबाट पूर्व झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए । मध्यान्हको दुर्घटनामा गम्भीर घाइते राईलाई तत्काल उद्धार गरी उपचारार्थ नगर अस्पताल बेलटार लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः०० बजे निधन भएको हो ।
इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीले जनाए अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई गम्भीर घाइते भएका छन् । उनलाई नगर अस्पतालमै उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।
प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतक राईको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टारमा राखेको जनाएको छ । दुर्घटनामा संलग्न जीप र चालक नुवाकोट बेलकोटगढी नगरपालिका ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर कार्कीले बताए ।