नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछ : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताएकी छन् ।
नेपाल संवत ११४५ को अवसर पारेर शनिवार काठमाडौँमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उनले सो आवश्यकता औँल्याएका हुन् । उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भएपनि त्यसको महत्त्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रूपमा अघि बढाउने कार्यलाई पनि तीव्रता दिनुपर्ने स्पष्ट पारिन् । उनले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रूपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन् ।
उपमेयर डंगोलले भनिन् ‘व्यवहारिक पक्षमा हामीले मनाउँदै आइरहेको र लागू गर्दै आइरहेको नेपाल संवत, यसलाई भने हामीले अव बलियो बनाउने हो भने प्रशासनिक रूपमा यसको प्रयोगलाई कसरी अझ तीव्र गतिमा पुर्याउने हो, त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय संवत राष्ट्रका हरेक व्यक्तिले बुझ्ने संवत बनाउनु अहिलेको आवश्यकता पनि रहेको छ । काठमाडौं महानगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि आजको यो समारोह गर्नका लागि सहयोग, साथ दिँदै आइरहेको छ । र आगामी दिनहरूमा पनि हामीले यसलाई निरन्तर रूपमा अघि बढाउने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु । साथै सरकारबाट हामीले राष्ट्रिय संवत हुनुपर्छ भनिसकेका छौँ । राष्ट्रिय संवत भईपनि सकेको छ । अब यसलाई लागू गर्नका लागि भने सरकारको पक्षबाट मात्र अपुग हुनसक्छ । हामीले दिनचर्यामा पनि प्रयोग गर्ने हामी सबैको जिम्मेवारी हो, दायित्व हो भनेर त्यो दायित्व बहन गरौँ पनि भन्न चाहन्छु ।’
त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन् ।