मन्त्री यादवको निर्देशन- वीरगञ्जस्थित कारागारको खानेपानी र शौचालयको समस्या तत्काल समाधान गर्नू

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गरेका छन् ।

शनिवार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन् । त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका उनले ती समस्याहरू तत्काल समाधान हुनेगरी काम गर्ने पनि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए ।

मन्त्री यादवले भने ‘यहाँ आउँदा कैदीबन्दीको समस्या पनि सुनेँ, नाइकेहरूलाई बोलाएर उहाँहरूको पनि कुरा सुने । के समस्या छ त भनेर सोधे । महिला पुरुष दुवैको समस्या सन्दाखेरी उहाँहरूको छुट्टाछुट्टै समस्याको कुरा आयो । एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो । ती समस्याहरू छन् । अर्को खानेपानीको समस्या छ । अर्को बिजुलीको समस्या पनि राखेका छन् । वायरिङको समस्या भएकाले एउटा कैदीबन्दीको केही समय अघि मृत्यु पनि भएको थियो । कहिले कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनु भयो । अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौँ भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु । ’

त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *