ज्यान मार्ने उद्योगमा सांसद मनाङे दोषी ठहर,५ वर्ष कैदको फैसला सदर
काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ(दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका छन् । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले मकालुखबरलाई बताए ।
न्यायाधीशद्धय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको कुइकेलले बताए ।
उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएकामा मंगलबार सर्वोच्चले त्यसलाई सदर गरेको हो । उच्च अदालत पाटनको आदेश विरुद्ध सांसद मनाङेले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदन दावी नपुगेपछि उच्च अदालत पाटनको आदेश सदर गरिएको कुइकेलले बताए ।
तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो।