रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौँ : मन्त्री पौडेल

सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन् ।

सप्तरीको राजविराज–१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलल प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताए ।

उनले चिकित्सा शिक्षा अध्ययनतर्फको स्नातक तह (एमबिबिएस) को पढाई सञ्चालन गर्ने उद्देश्यका लागि प्रतिष्ठानका पूर्वाधार निर्माण गर्न लागिएको र यसलाई व्यवस्थित गरेमा जनताले सजिलै लाभ लिन सकिने उल्लेख गरे ।

मन्त्री पौडेलले भने, “रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । अब पूर्वाधार निर्माणका लागि बोलपत्र गरी चाँडै काम अघि बढाइने छ ।”

प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यस वर्ष आवश्यक पूर्वाधार निर्माणका लागि रु ४० करोड बजेट छुट्याए पनि बोलपत्र आह्वान हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

वि.सं.२०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेसँगै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *