टिप्पणी

रास्वपाको अराजक आन्दोलन : भड्काऊपूर्ण अभिव्यक्ति

सांसदहरूले नै आन्दोलनमा ढुंगा हान्न उक्साउनेदेखि गणतन्त्रलाई अश्लीलतासँग जोड्नेसम्मका अभिव्यक्ति दिने गरेका हुन्

काठमाडौं । सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्की प्रहरीको हिरासतका छन् । अनुसन्धानका लागि पक्राउ परेका उनले सुरुमै अशोभनीय भाषा बोले । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ।’

त्यसैको सिको हो या माउ समातिएपछि आत्तिएर हो- रास्वपाको आन्दोलन अराजक बन्दै गएको छ । ‘जान्नेलाई छान्ने र कानुन मान्ने’ भन्दै उदाएको हो पार्टीमा पुराना दलभन्दा भिन्न गुण एउटा पनि देखिएन । अझ पुराना दललाई नै माथ दिनेगरी अहिले सडकमा पोखिएको छ -राष्ट्रिय स्वतन्त्र पार्टी । सभापति लामिछाने समातिएपछि ‘रानो हराएको मौरी’ झैँ भएको यो पार्टीको आन्दोलन आम जनतामा भ्रम सिर्जना गर्दै अराजक बन्न उक्काउने खालको छ ।

मंगलबार पोखरा आयोजित आन्दोलनलाई सम्बोधन गर्दै सांसद सोविता गौतमले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरिन् । ‘यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नै पर्छ,’ उनले भनिन्, ‘तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस् । यो सरकारको विरोध गर्नैपर्छ ।’

सांसद गौतमले मर्यादा नै बिर्सेर ‘सरकारविरुद्ध आन्दोलनमा जे शक्ति छ, त्यो लिएर आउन’ भनिन् । उनले भनेकी थिइन्, ‘तपाईँहरूले जे शक्ति छ, त्यो लिएर आउनुस्, जे सक्नुहुन्छ, त्यो गर्नुस् । यो सरकारलाई भन्न चाहन्छु, यो आन्दोलनमा घटेको एउटा पनि घटनाको जिम्मा रास्वपाले लिँदैन । कसरी सक्नुहुन्छ हरेक जिल्लाबाट जागेर आउनुस्, अब अति भयो । यो एउटा पार्टीको आन्दोलन होइन । अहिलेको सरकारले नयाँ पुस्तालाई थुन्न खोजेको हो । त्यसका विरुद्ध हामी उठ्नुपर्छ ।’

अब यो आन्दोलन नरोकिने चेतावनी दिँदै उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुर्दावादको नाराबाजीसमेत गरिन् । यो तानाशाही सरकार ढल्नैपर्ने भन्दै उनले आक्रोश पोखिन् ।

दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपा नेताहरूका भड्काऊ अभिव्यक्ति त्यत्तिमा मात्रै सीमित छैनन्- सांसद विराजभक्त श्रेष्ठले त ‘गणतन्त्र’लाई अश्लीलतासँग जोड । ‘के तन्त्र हो यो ? गणतन्त्र हो कि गे…तन्त्र हो यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलन नि गर्न नपाइने हो र ?’

श्रेष्ठले सरकारविरुद्ध आक्रोश पोख्ने क्रममा अश्लील शब्द प्रयोग गरेको ‘क्लिप’ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपाली जनताको त्याग, बलिदान र संघर्षको बलमा प्राप्त ‘गणतन्त्र’लाई सुसंस्कृत राजनीति गर्ने दाबी गर्ने विराजभक्त श्रेष्ठले अश्लील नाम दिन मिल्छ ? गम्भीर प्रश्न उठेको छ । यो अभिव्यक्तिबाट कथित सभ्य र सुसंस्कृत राजनीतिका पक्षधर रास्वपा नेताहरूका असली रूप देखिएको कतिपयको तर्क छ ।

बालुवाटारको आन्दोलनमा नै नेपाली राजनीति पूरै विकृत भएको भन्दै सुसंस्कृत राजनीतिको वकालत गर्ने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भनेका थिए, ‘राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्, धाकधम्की नदिइयोस् ।’ उनको यो अभिव्यक्तिले पनि रास्वपा बिस्तारै ढुंगा हान्ने बाटोतर्फ जान खोजेको संकेत गर्दछ ।

पछिल्ला दिनमा सभापति रवि लामिछाने आपराधिक कसुरमा पक्राउ परेपछि असंयमित भएर रास्वपा नेताहरूले अभिव्यक्ति दिइरहेका छन् । जुन शोभनीय पटक्कै होइन । फेरि, रास्वपा त्यस्तो दल पनि हो, जुन दलले विधिको शासनको वकालत गर्छ । त्यही भएर न्यायालयमाथि दबाब र प्रभाव पार्नेगरी रास्वपाले प्रदर्शन गर्नु जायज होइन ।

उसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको कांग्रेस–एमालेको गठबन्धन सरकारले रविजस्तै सहकारी ठगी आरोपी लागेका सत्तापक्षीय नेताहरू जोगाएको आरोप लागेको छ । ललितपुरको मितेरी सहकारी ठगी आरोपी कांग्रेस उपसभापति धनराज गुरुङ र मोरङको उमागौरी सहकारीको ठगी आरोपी एमाले सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई छानबिनको दायरामा ल्याएको छैन ।

यसैलाई देखाएर रास्वपाका नेता कार्यकर्ताले सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको दाबी गर्दै आएका छन् । रास्वपाले गरिरहेको प्रदर्शनको मुख्य आधार त्यसैलाई बनाइएको छ । तर, विधिको शासनलाई चुनौती दिनेगरी भएको रास्वपाको प्रदर्शन, भड्काइपूर्ण सन्देश र गणतान्त्रिक व्यवस्थालाई अश्लीलतासँग जोड्ने जस्ता अभिव्यक्ति सही मान्ने ठाउँ भने देखिँदैन ।

प्रतिक्रिया

One thought on “रास्वपाको अराजक आन्दोलन : भड्काऊपूर्ण अभिव्यक्ति

  1. त्यो धनराज र ऋषिकेशलाई छानविन गर्नु पर्दैन ? सहकारीको पैसा असूलउपर गर्नुपर्दैन ? सही र गलत त न्यायालयले छुट्ट्याइहाल्ला नि खांग्रेसी/खेमालेहो, तिमीहरुकै कारण ठगीखाने पार्टीले अदालतलाई प्रभावित गर्नेगरी बलजफ्ती अान्दोलन गरिराकोछ । अब जनताको पसिना चोरीखाने नयाँ/पुराना सबै डाँकाहरुलाई भाटेकोशी पुर्याएर असूलउपर गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *