लुम्बिनीलाई हराउँदै सुदुरपश्चिम बन्यो च्याम्पियन
काठमाडौं । सुदुरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।
बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो ।
सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ रन मात्र बनायो ।
लुम्बिनीका लागि ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे ।
सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए । लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भएका हुन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए ।
१० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए । यस्तै, सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए । अशोक धामीको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम पनि ३७.३ ओभरमा १२७ रनमै समेटिएको थियो । सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए । नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए ।
लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए । राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए ।
प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दी सिरिज’ चुनिए । उनले ब्याटिङमा पनि १ सय ९१ रन जोडेका थिए ।