मिथिलाञ्चलको महापर्व छठको दोस्रो दिन खरना मनाइँदै
काठमाडौं । मिथिलाञ्चलको महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदैछ । दिनभरि व्रत बसी छठका व्रतालु महिला तथा पुरुषहरु बेलुका खरनाको अवसरमा कुल देवताको पूजा गर्ने गर्दछन् ।
खरना भनिने आजको तिथिमा सख्खरको खिर र केरा प्रसादको रुपमा चढाउने गर्छन् । यो प्रसादको छठमा विशेष महत्व रहेको छ ।
कुनै विशेष यज्ञ वा उत्सव गर्दा कुल देवताको आराधना गर्ने मिथिलामा मान्यता रहेको छ यसै अन्तर्गत खरनामा कुलदेवताको पूजा गरिन्छ ।
चारदिवसीय छठ पर्व अन्तर्गत पहिलो दिन नहाइ खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको अघ्र्य र अन्तिम दिन उदाउँदो सूर्यको अघ्र्य दिइने परम्परा रहेको छ ।
छठमा केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुलासहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्यलाई अघ्र्य दिने गर्छन् ।
छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । छठ पर्वको तयारी अन्तिम चरणमा पुगेसँगै बजारमा भारी भीड देखिएको छ । पूजा सामग्रीहरु खरिदका लागि श्रद्धालुहरुको ठूलो भीड बजारमा लागेको छ ।
दशैँ र दीपावलीका अवसरमा बजार सामान्यरूपमा सुनसान रहे पनि छठ पर्वले बजारमा चहलपहल बढेको हो । भाईटीकादेखि नै छठपूजाका सामग्रीहरू किनमेल गर्नेको भीड बढेको देखिएको छ ।
विशेष गरी छठमा नयाँ कपडा र जुत्ता खरिद गनेहरुको भीड हुन्छ । छठको पूर्व सन्ध्यामा अबेर रातिसम्म बजारमा कारोबार हुने गर्छ । लत्ताकपडाका साथै फलफूल, मिठाइका पसलहरुमा श्रद्धालुहरुको भीड लागेको हुन्छ ।