‘भूपि पुरस्कार’का लागि कृति आह्वान
गण्डकी । धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्ष प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । प्रतिष्ठानको हालै बसेको बैठकले आगामी मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।
भूपि शेरचनको जीवनी तथा उनका सिर्जनाबारेका समीक्षात्मक र अनुसन्धानात्मक कृतिलाई प्राथमिकता दिइने उनको भनाइ छ । रु २५ हजार राशिको उक्त पुरस्कार आगामी पुसमा पर्ने भूपि जयन्तीमा प्रदान गरिनेछ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ ।
यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्रा डा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्कृत भइसकेका छन् । विसं २०७३ मा प्रतिष्ठानले कवि भूपि शेरचनका नाममा पुरस्कार स्थापना गरेका थियो । वि.सं.१९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्य जगतको विशिष्ट प्रतिभा छन् । उहाँका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘परिवर्तन’, ‘नयाँ झ्याउरे’लगायत कृति लोकप्रिय छन् ।