वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

पर्सा । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ । हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको भीडले सर्वसाधारणलाई आउजाउ गर्न मुस्किल छ । मीनाबजारका स्थानीय व्यापारी राजेश साहले छठ पर्वमा ग्रामीण भेगका सर्वसाधारण पनि किनमेल गर्न आउने भएकाले भीडभाड धेरै हुने बताए ।

“सामान्य अवस्थामा भन्दा अहिले भीडभाड छ । तर, व्यापार भने विगतमा जस्तो छैन”, उनले भने,“आर्थिक मन्दीका कारण हो या सर्वसाधारणले खुलेर खर्च गर्न डराइरहेका छन् ।”

मौसमी व्यापारीले घण्टाघरदेखि माईस्थानसम्म सडकमै विभिन्न प्रकारका सरसमान राखेर किनबेच गरिरहेका छन् । महानगरले किनबेच गर्नेका लागि उपयुक्त स्थान नतोक्दा पनि धेरै अस्तव्यस्त भइरहेको स्थानीयको भनाइ छ ।

पर्टेवा सुगौली गाउँपालिका रङ्गपुरबाट छठका समान किन्न मीनाबजार आएकी सोनी महतोले अन्य स्थानभन्दा केही सस्तो पाइने भएकाले यहाँ मेला भर्न आएको बताइन् ।

छठ पर्वमा बोटसहितका अदुवा, मुला, घारीसहितका केरा, पिडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायतका तरकारी तथा फलफूल किनमेल गर्नेको घुइँचो छ ।

अर्काेतर्फ अर्घ्यका लागि सुपारी, इलाइची, ल्वाङ, सिन्दूरलगायतका सामान खरिद गर्ने उत्तिकै छन् । पूजाका सामग्री छठ घाटसम्म पुर्‍याउन डालो, ढकिया, नाङ्लोलगायतका सामान खरिद गर्नेको भीड उत्तिकै छ ।

वीरगञ्जको मुख्य बजार क्षेत्रमा मौसमी व्यापार गर्नेको कारणले भीडभाड भए पनि लत्ताकपडा र खाद्यान्नलगायतका सरसमान खरिद गर्न सीमावर्ती बजार रक्सौल जाने गर्छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले चाडपर्वको बेला मौसमी व्यापारीको भीडभाड हुने गरे पनि खाद्यान्न र लत्ताकपडा किनमेल गर्न उपभोक्ता रक्सौल जाने गरेको बताए ।

सरकारले खाद्यान्न र लत्ताकपडामा अत्यधिक कर लगाएको कारण पनि नेपालका सर्वसाधारण स्वदेशी बजारभन्दा भारतीय सीमावर्ती बजारमा किनमेल गर्न रुचाउने उनले बताए ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् ।

गत आर्थिक वषको सोही अवधिको तुलनामा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।

यो नाका हुँदै चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *