ओरालो यात्रामा ओलीको ‘क्रेज’ !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता (क्रेज) खस्किँदै गएको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओली चौथो पटक सरकारको नेतृत्व गरिरहेका छन् । तर,उनको कामकारबाही ठिक नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सदनदेखि सडकसम्म उनले आलोचना खेपिरहेका छन् । सामाजिक सञ्जालमार्फत पनि उत्तिकै विरोधको सामना गरिरहेका छन्- प्रधानमन्त्री ओली । केही दिन अघि मात्रै काठमाडौंको दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका थिए ।

त्यसक्रममा उनीविरुद्ध युवाहरूले असन्तुष्टि व्यक्त गर्दै नारा लगाए । त्यति मात्रै होइन,ओलीलाई मार्न सकिने तर्फ लक्षित गर्दै एक युवाले भिडिओ बनाएर सामाजिक सञ्जालमा पोष्ट समेत गरे । जापानमा बस्ने एक नेपाली भ्लगरले ओलीलाई मार्न सकिने भन्दै अभिव्यक्ति दिएका थिए । यद्यपि ती व्यक्तिले पछि माफी मागेका थिए ।

उसो त,प्रधानमन्त्री ओली आफूहरूलाई गाली पचाउने बानी परिसकेको बताउँछन् । केही दिन अघि सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने,‘हाम्रो समाज पहिले जस्तो होइन यहाँ डेमोक्रेसी छ । त्यसकारण गाली गर्ने र सुन्ने बानी परेको छ । गाली जति गरेपनि भो,जे बोले पनि भो र त्यो सुन्ने बानी परिसक्या छ ।’ त्यस क्रममा उनले संस्कृतिलाई सुसभ्य संस्कृतिको रुपमा लानुपर्ने बताएका थिए ।

कुनै समय केपी ओली आइलभ यू को नारा लाग्ने गरेकामा अहिले उनको विरोध भइरहेको हो । केही समयअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला पनि ओली सहभागी कार्यक्रम स्थगित गरिएको थियो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । तर,सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई देखाउँदै कार्यक्रम स्थगित गरियो ।

यस्तै गत भदौमा गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए । प्रमुख अतिथिका रुपमा ओली उपस्थित हुँदा कांग्रेस सभापति शेर बहादुर देउवा विशेष अतिथि बनेर कार्यक्रम स्थल पुगेका थिए । त्यस कार्यक्रममा पनि युवाहरूले उनीहरुविरुद्ध चर्को स्वरमा नाराबाजी गरे ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको तिक्तताका कारण पनि ओली युवामाझ आलोचित बन्न पुगेका छन् । ‘गिरिबन्धु टि स्टेट’ प्रकरणलाई लिएर प्रधानमन्त्री ओली लक्षित मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि ओली आक्रोशित भए ।

एक नाबालिगकालाई घरेलु कामदारको नाममा नेकपा एमाले सांसद रेखा शर्माले हिंसा गरेको भएपनि ओलीले संरक्षण गरिरहेको भन्दै मेयर शाहले फेसबुकमै लेखेर आरोप लगाए । यसपछि ओली थप चिढिए । ओली-बालेनबीच आरोपप्रत्यारोप हुँदा मेयर शाह समर्थकहरूले ओलीको फेसबुक ‘अनफलो’ अभियान नै चलाए ।

यसैगरी भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने गरी विधेयक संसदमा पेश भएपछि प्रधानमन्त्री ओली थप अलोकप्रिय बनेका राजनीतिक वृत्तमा चर्चा छ । यद्यपि चौतर्फी विरोधपछि उक्त निर्णयबाट ओली सरकार पछि हट्न बाध्य भएको थियो ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि पनि ओली सरकार आलोचनाको सिकार भएको छ । राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरिएको भन्दै देशभर प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी भइरहेको छ ।

ओलीको विगतलाई केलाउँदा उनी झापा विद्रोहका क्रममा १४ वर्ष जेल जीवन बिताएका व्यक्ति हुन् । राष्ट्रिय राजनीतिमा गणतन्त्र स्थापनापछि मात्रै उनी शक्तिशाली व्यक्तिका रुपमा उदाए । एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका ओली नेपालको संविधान २०७२ जारी भएपछि २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए ।

२०७४ सालको निर्वाचनपछि ओली करिब दुई तिहाइको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बनेपनि उनले सरकार टिकाउन भने सकेनन् । उनी बढी महत्वकांक्षी भएको बताइन्छ । ओलीले दुई/दुई पटक संसद् नै विघटन गरे । तर,ओलीको उक्त कदममा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदियो ।

भारतले लगाएको अघोषित नाकाबन्दी विरुद्ध खरो रुपमा उत्रिएपछि उनको लोकप्रियता बढेको थियो । कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी भएपछि उनले थप उचाई हाँसिल गरे ।

प्रधानमन्त्री ओलीले भन्ने गरेको ‘म भ्रष्टाचार गर्दिनँ,भ्रष्टाचार हुन दिन्नँ । भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ नारा पनि नारामै सीमित देखिएको विश्लेषकहरू बताउँछन् । एकपछि अर्को लोकप्रिय योजना र कार्यक्रम घोषणा गर्ने तर ती योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्नुले पनि ओलीको आलोचना हुने गरेको कतिपयको विश्लेषण छ ।

नेताहरूको कार्यशैलीका कारण नागरिकहरू आक्रामक रुपमा उत्रिएको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँ बताउँछन् । उनले मकालुखबरसंग भने,‘वि.सं.२०४८ सालदेखि एउटै अनुहार पटकपटक सांसद हुँदै मन्त्री भएका छन् । तर उसले देश र जनताका लागि केही गरेको छैन । त्यही व्यक्तिको अनुहार फर्की फर्की आएको छ । चाहे त्यो गणतन्त्र,लोकतन्त्र लगायत जुनसुकै नाम दिए पनि उनै च्यात्तिएका अनुहार छन्,नयाँ अनुहार पनि आउन सकेका छैनन् ।’ राजनीतिक विश्लेषक चापागाईँका अनुसार नेताहरूले नयाँ कार्यक्रम र नयाँ कार्यदिशा समेत ल्याउन सकेका छैनन् ।

‘भाइटिकाको अघिल्लो दिन युवाहरू बिदेसिनुपर्ने अवस्था छ । दिदीले रुँदै बिदाइ गर्नपर्ने अवस्था छ । ती युवाले के सोच्छ ? मेरो देशमा म बस्न नसकेको, यो देशका नेताले परिवर्तन ल्याउन सकेनन् । मेरो देश प्राकृतिक सम्पदाले धनी भएपनि देशका सञ्चालकहरूले केही गर्न सकेनन् ।’ ‘युवाभित्र नेताहरूप्रति आक्रोशको आगो रहेको छ । युवाहरूको आक्रोश असन्तुष्टिको आगोको लप्का हो’, उनले भने ।

लोकतन्त्रमा विरलै गरिने अभ्यास कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर सरकार बनेको भएपनि जनतामा आशा जगाउन सक्ने काम गर्न नसकेको राजनीतिक विश्लेषक चापागाईँले बताए ।

‘दुई ठूला पार्टी मिलेर सरकार बन्यो । तर, सरकार गठन भएको तीन महिनाको अवधिमा कुनै गतिलो काम गर्न सकेन,’ राजनीतिक विश्लेषक चापागाईँले भने, ‘आशा पनि जगाउने काम गर्न नसक्दा आम असन्तुष्टि बढेको छ ।’

समाजले शिष्ट विरोधलाई सुन्नै छोडेको बताउँदै आक्रामक किसिमको शैली नै लोकप्रिय बन्दै गएको उनले उल्लेख गरे । उनले भने, ‘समाजले शिष्ट विरोधलाई सुन्नै छाडिसकेको छ । सत्य र शिष्ट किसिमको विरोधलाई राज्यले पनि सुन्दैन ।’

सामाजिक चेतना आक्रामक र अशिष्ट बनिरहेको समेत उनले बताए । आगामी दिनमा विधिको शासनको साटो देशमा व्यक्तिको शासन हाबी भएमा अहिलेको स्थिति भयावह बन्न सक्ने विश्लेषक चापागाईँ बताउँछन् । यस विषयमा राज्य बेलैमा सचेत हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै अर्का राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले आफ्नै शैलीका कारण ओली अलोकप्रिय बन्दै गएको बताउँछन् । उनले मकालुखबरसंग भने, ‘आफ्नै शैलीका कारण प्रधानमन्त्री ओली अलोकप्रिय बन्दै गइरहेका छन् । सक्किने की सच्चिने अवस्थामा उहाँ हुनुहुन्छ ।’

बालेनदेखि कुलमानसम्मलाई झम्टिन पुगेका कारण पनि ओली आलोचित हुनु परेको उनको भनाई छ । पछिल्लो समय आएको बाढी पहिरोमा उद्धार कार्य प्रभावकारी नहुँदा समेत ओली सरकार असफल भएको उनी बताउँछन् ।

प्रधानमन्त्री ओलीको विदेश भ्रमण पनि विवादित बनेको बताउँदै सरकार गठन भएदेखि प्रशंसनीय काम गर्न नसकेको उनले उल्लेख गरे । एमाले पार्टी कार्यालय निर्माणका क्रममा पनि ओलीको आलोचना भएको उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *