फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे
काठमाडौं । गण्डकी प्रदेशका सभा सदस्य दीपक मनाङेले अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेले अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने स्पष्ट पारेका हुन् ।
सांसद मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । उनले सर्वोच्चको फैसला आएको कुरा आफूले आफ्ना कानुन व्यवसायीहरूबाट थाहा पाएको बताए ।
दुई दशकअघिको घटनाले जेल जानु पर्ने अवस्थामा पुगेका पूर्वमन्त्री तथा सांसद मनाङे सम्पर्कविहीन भएका थिए । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाए लगत्तै उनी मंगलदेखि बेपत्ता भएका थिए ।
एक विज्ञप्ती जारी गर्दै मनाङेले गुणस्तरहीन सञ्चार माध्यमबाट तारन्तार कल आएकाले मोवाइल अफ गरेर बसेको बताएका छन् ।
गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको २० वर्ष पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो ।
सर्वोच्चको फैसलासँगै मनाङेको सांसद पद पनि निलम्बनमा पर्ने निश्चित भएको छ । निर्वाचनसम्बन्धी ऐनमा फौजदारी कसुरमा अदालतबाट सजाय तोकिएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ ।
ऐनको दफा १३ मा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने प्रष्ट उल्लेख छ ।
ऐनको यो व्यवस्थाले मनाङेको प्रदेशसभा सदस्य पदको उम्मेदवारी गैरकानुनी ठहरिने भएकाले सांसद पद निलम्बनमा पर्ने देखिन्छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि प्रदेश सभाका सभामुखले पद निलम्बन सम्बन्धी प्रक्रिया अघि बढाउने व्यवस्था छ ।
मनाङे २०७४ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । अदालतमा मुद्दा विचाराधीन रहेको र फरार अभियुक्तको सूचीमा रहेका उनले त्यतिबेला झूठा विवरण पेश गरेर उम्मेदवारी दिएका थिए ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी २०७९ को निर्वाचनमा दोस्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । त्रिशंकु संसद्को फाइदा उठाउँदै दुवै कार्यकालमा उनी पटक–पटक मन्त्री समेत भए ।