पाकिस्तानले अस्ट्रेलियालाई हरायो
काठमाडौं । पाकिस्तानले दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ ।
अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका दुवै ओपनरले उत्कृष्ट पारि खेले ।
ओपनर साइम अयुबले सर्वाधिक ८२ रनको योगदान दिए । उनले ७१ बलमा ८२ रन बनाए । उनले ६ छक्का र ५ चौका प्रहार गरे ।
अर्का ओपनर अब्दुल्ला शफिकले पनि उत्कृष्ट पारि खेले । उनले ६९ बलमा ६४ रनमा नटआउट रहे ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पूर्व कप्तान बाबर आजमले २० बलमा १५ रनको योगदान दिए ।
पाकिस्तानका ब्याटर सामु अस्ट्रेलियाका बलर निरीह बने । स्पिनर एडम जाम्पाले १ विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सन्तोषजनक प्रदर्शन गर्न सकेन । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५, म्याट शर्टले १९ र एडम जम्पाले १८ रन बनाउनु बाहेक अन्य ब्याटरको ब्याट चलेन ।
पाकिस्तानका हरिस रउफले ५ विकेट लिँदा अस्ट्रेलियाको ब्याटिङ ध्वस्त बन्न पुग्यो । पाकिस्तानका अर्का बलर शाहीन अफ्रिदीले ३ विकेट लिए भने मोहम्मद हसनैन र नसिम शाहले समान १–१ विकेट लिए ।