एमाले बागमतीले टुङ्गायो उम्मेदवारको नाम
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रवार बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा.राजन भट्टराईले जानकारी दिए । उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा.सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर,काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।
यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।