पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी नवराज अधिकारीले मकालुखबरलाई जानकारी दिए ।
अधिकारीलाई आज नै काठमाडौं ल्याइएको थियो । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ ।
यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।