४ सञ्चारमाध्यम कालोसूचीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै काउन्सिलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, कोशीपोष्ट डटकम र खोजतलास अनलाइन डटकम लाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । यससंगै चालु आर्थिक वर्षको हालसम्म सात वटा सञ्चारमाध्यम कालोसुचिमा परेका छन् ।
त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको काउन्सिलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको बताएको छ ।
काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत गराएको छ ।
काउन्सिलले भ्रामक सुचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको जनाएको छ ।
त्यसैगरी काउन्सिलले सात वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखेर छानबिन गरिरहेको छ । दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवन नेपालन्युज डटकम, अनलाइन टिभि नेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभि र विजीटिभी (युट्युब च्यानल) माथि छानविन भइरहेको हो ।
पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रेस काउन्सिल नेपालद्धारा जारी प्रेस विज्ञप्ति