पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा आइतबार आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पदाधिकारीसँगको छलफलमा उनले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताए ।

मन्त्री यादवले भने,“जलवायु परिर्वतनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदै छ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”उनले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अङ्गका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताए ।

छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गरेका थिए । उक्त अध्ययन सामग्रीअनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् ।

यहाँ भएकामध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधारविज्ञ ढकालको भनाइ थियो ।

सोही संस्थाका अनुगमन, मूल्याङ्कन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा सम्वर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताए । उनले सुकेका मूलको नक्साङ्कन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राखे ।

छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मिना श्रेष्ठ, मेलम्ची खानेपानी व्यवस्थापन समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *