रवि लामिछानेलाई जहाजमार्फत रुपन्देही लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पोखराबाट रुपन्देही लग्ने तयारी भइरहेको छ । उनलाई सकेसम्म आजै नभए भोलि रुपन्देही पुर्‍याउने तयारी भएको हो ।

लामिछानेलाई विमानबाट बुटवल ल्याइने रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । ‘आज साँझसम्म वा भोलि बिहान विमानबाट भैरहवा ल्याइनेछ,’ उनले भने, ‘यसका लागि प्लेनको फ्लाइट शेड्युल बुझ्ने तथा आन्तरिक तयारी भइरहेको छ ।’

प्रहरीले सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा खर्च गरिएको आरोपमा लामिछानेसहित १२ जनालाई अनुसन्धानको लागि पक्राउ गर्ने अनुमति लिएको छ । छानबिनका क्रममा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा र १४ करोड २९ लाख विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको देखिएको छ ।

लामिछानेसँग पोखराबाट भैरहवा ल्याएपछि बयान लिइने तयारी भइरहेको छ । यसअघि कास्कीमा हिरासतमा रहेका उनलाई रुपन्देहीको सुप्रिम सहकारीमा भएको ठगी अनुसन्धानका लागि ल्याउने प्रक्रिया सुरु भएको हो । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई यसअघि रुपन्देही ल्याएर बयान लिइसकिएको छ ।

अनुसन्धानले लामिछाने र अन्य व्यक्तिहरूको नाममा सहकारीको ठूलो रकम अनियमितता गरिएको प्रमाणित गरेको छ । सुप्रिम सहकारीका १८ सय ३१ बचतकर्ताले आफ्नो ८६ करोडभन्दा बढी रकम अपचलन भएको उजुरी दर्ता गराएका छन्, जसका आधारमा अनुसन्धान सुरु भएको हो ।

सभापति लामिछानेलाई रुपन्देही लग्ने तयारी हुँदै गर्दा रास्वपाले भने बुटवल लक्षित प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट बुटवल केन्द्रित भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *