सरकार आफ्नै कारणले ढल्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन् ।

उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए । देशमा असाधारण परिस्थिति बन्दै गएको उनको दाबी छ । ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ । असाधारण परिस्थिति देशमा बन्दैछ । त्यसको लागि सबै पार्टीहरुको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरु फुटाउने खालको पनि चर्चा चलिरहेको छ । यि सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो । जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियोm’ उनले अगाडि भने, ‘हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गर्नुपर्छ । अरु कुरा त हामी गर्दै गरौँला । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरु, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ । निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ ।’

प्रवक्ता सापकोटाले राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए । ‘सरकार एक पछि अर्को जनहित विपरितमा जाँदैछ, पहिलो र दोस्रो पार्टी मिलेर सरकारले अलिकति अधिनायकवादतिर, अलि तानाशाहीतिर जान्छ भन्ने थियो नि, अहिले ठिक त्यस्तै कुरा पुष्ठि भइरहेका छन् । चाहे तपाईं कीर्तिपुरको जग्गाको कुरा गर्नुस् । पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका बिरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदैछन्,’ उनले भने, ‘राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ । लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको छ । जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *