उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादीको निर्देशन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका हुन् ।
उनले उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको बताए ।
उनले मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए ।
उनले भने– ‘मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ । मंसिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने । पुसको २ गते केन्द्रिय समितिको बैठक बस्ने ।’
प्रवक्ता सापकोटाले वर्तमान सरकार जनहित विपरित कार्यमा अघि बढिरहेको आरोप लगाए । पदाधिकारी बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।