पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि, कांग्रेस नेताद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएका वाग्लेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका वाग्लेको पार्थिव शरीरमा पार्टीका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

पार्टीका केन्द्रीय सदस्यहरु बलबहादुर केसी, शङ्कर भण्डारी, कमला पन्त, रामहरि खतिवडा, अब्दुल सत्तार, प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाई, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेलगायत दर्जनौँ नेता तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपाल पूर्वमहासचिवसमेत रहनुभएका ५५ वर्षीय वाग्लेलाई कलेजोको समस्या देखिएपछि कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

स्वर्गीय वाग्लेको ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय रहेको छ । उनको जलविद्युत्, बीमा, बैंकलगायतमा लगानी छ । स्वर्गीय वाग्ले विगत तीन दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील थिए । स्वर्गीय वाग्ले कांग्रेस नेता एवं पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *