प्रदेशका नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा स्थिरता आवश्यक रहेको बताएका छन् ।

उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे ।

सुशासन र सङ्घीयता कार्यान्वयनमा मधेस प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै उनले भने,“एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकार पुग्नुपर्छ । त्यसक्रममा मैले के गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारीले पनि गर्नुपर्छ ।”

उनले अध्ययनका क्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्याउन विभिन्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसङ्ख्यालाई सेवा पुर्‍याउनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनसिंह कोइरी, विभिन्न मन्त्रालयका सचिवलगायतले आआफ्ना धारणा राखेका थिए । अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण गरिनुपर्ने लगायतका सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *