मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट पाउने अधिकार सुनिश्चित नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताएका छन् ।
जसपा नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाइ नगरपालिका–८ वीरनगरामा आयोजना गरेको जनसभामा बोल्दै उनले मधेशी समुदायले जनसङ्ख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, शासन र प्रशासन, नीति, कानुन बनाउने अधिकारका लागि सङ्घर्ष जारी राखेको उल्लेख गरे ।
अध्यक्ष यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँ देखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको दाबी गरे । देशको आधाभन्दा बढी जनसङ्ख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसङ्ख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेस पछाडि परेको उनको आरोप थियो ।
उनले मधेसमा लगभग ५४ प्रतिशत जनसङ्ख्या भएपनि शासकले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको जिकिर गरे ।
उनले मधेसको विकासका लागि राज्यले यथोचित लगानी बढाउनुपर्नेमा जोड दिए ।