‘सार्वजनिक सेवा सुधार प्राथमिकतामा’
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।
दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख आइपुगेका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई राज्य छ भन्ने अनुभूति हुने बताए ।
जनचेतनाको अभावमा हाल कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउँदै उनले चेतनास्तर उकास्न आवश्यक रहेको जनाए । आगामी वर्षबाट विधिसम्मत् योजना निर्माण, प्रभावकारी कार्यान्वयन र पारदर्शीता, अलपत्र योजनालाई समयमा सम्पन्न गर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । जनअपेक्षा अनुसार कतिपय काम गर्न नसकिएको स्विकार्दै उनले सामाजिक सञ्जालमा आएका कुराबाट धारणा बनाउनु नहुने बताए ।
उनले भने, ‘मैले मेरो दायित्व पूरा गर्नुपर्छ । सेवा प्रदायकले अतिरिक्त शुल्क नलिई काम गर्नुस् । सकारात्मक काममा सबैले सहयोग गरौँ । विकास निर्माणमा नागरिकदेखि नीतिगत तहसम्म ऐक्यबद्धता आवश्यक छ ।’
पेट्रोलियम पदार्थ उत्खनन् हुँदै गरेको दैलेखमा तत्काल भण्डारण र प्रशोधनको तहमा काम गरिहाल्नु जरुरी नरहेको उल्लेख गर्दै उनले अनुमान गरे अनुसार पेट्रोलियम पदार्थ फेला परेमा दैलेखसहित सिङ्गो कर्णालीको अर्थतन्त्र र विकासमा ठूलो टेवा पुग्ने बताए ।