राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् ।
आइतबार वीरगञ्जमा पार्टीको तराई—मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताए । उनले अहिले देश संकट नै संकटको चक्रव्यूहमा फसेको बताए । उनले तराई/मधेस उत्थानको महत्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको बताए ।
उनले विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताए । उनले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्कारको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्ने बताए ।
उनले भने ‘देश अहिले संकट नै संकटको चक्रव्यूहमा फसेको छ । त्यसको प्रभाव स्वाभाविक रूपले तराई/मधेसमा पनि परेको छ । तराई/मधेसको उत्थानको कुरा गर्दा राष्ट्रियस्तरमा रहेको संकटलाई ध्यान दिनुपर्छ । तराई/मधेस उत्थानको एउटा महत्वपूर्ण मुद्दाका रुपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु पनि एउटा महत्वपूर्ण र अभिन्न अङ्ग हुनुपर्छ । विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ । सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्कारको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्छ । राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ ।’
अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन सुरु भएसँगै प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रीपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानबिन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशोधन हुनुपर्ने बताए ।