सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना माग गरेकै कारण योजनाबद्ध रुपमा हत्या गरिएका कैलालीका सुरेश भुलको घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

महासङ्घ जिल्ला कार्यसमिति कैलालीका सदस्य समेत रहेका भुलको कात्तिक २५ गते साँझ गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलस्थित आफ्नै पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दा निधन भएको अध्यक्ष उमीद बागचन्द र महासचिव अजयकुमार साहले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस घटनाले देशभरका सूचनाको हकका अभियानकर्मी र महासङ्घलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घ अध्यक्ष बागचन्द नेतृत्वको समूहले आजै गृहमन्त्री रमेश लेखकलाई भेट गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको कैलाली प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न महासङ्घले जोडदार माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *