ह्वाइट हाउसमा एलन मस्कका लागि नयाँ विभाग, दिइयो जिम्मेवारी
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएलगत्तै विश्वकै धनी व्यक्तिहरूमध्ये एक इलन मस्कलाई महत्वपूर्ण जिम्मेवारी दिने उद्देश्यले ह्वाइट हाउसमा एक नयाँ विभाग स्थापना गरेका छन् । मंगलबार एक औपचारिक सन्देशमार्फत ट्रम्पले मस्क र विवेक रामास्वामीलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’मा भूमिका प्रदान गरिएको घोषणा गरे ।
यो नयाँ विभागले संघीय खर्चमा कटौती, कर्मचारीतन्त्रलाई सुधार, अनावश्यक नियमहरू हटाउने, र संघीय एजेन्सीहरूको पुनर्संरचनामा ध्यान दिनेछ । ट्रम्पका अनुसार, यी परिवर्तनहरू ‘सेभ अमेरिका’ अभियानको अभिन्न हिस्सा हुन् । ट्रम्पले मस्क र रामास्वामीलाई ‘अद्भुत अमेरिकी’ भन्दै, सरकारको कार्यक्षमतामा सुधार ल्याउनको लागि मार्गप्रशस्त गर्ने प्रमुख व्यक्ति ठहर गरेका छन् ।
तर, मस्कको जिम्मेवारीको खाका भने अझै सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनमा मस्कले कसरी योगदान पुर्याउने भन्ने विषयमा थप विवरण आउन बाँकी छ ।
विश्लेषकहरूले भनेका छन् कि ट्रम्पको ऐतिहासिक जितमा मस्कको ठूलो योगदान रह्यो, जसमा उनले लगभग २०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए । चुनाव अघि नै ट्रम्पले मस्कलाई ‘सुपर जीनियस’को रूपमा प्रशंसा गर्दै उनलाई ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी दिने संकेत गरेका थिए ।
रामास्वामी, जो यसपटक रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेका थिए, पछि ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।