हामी बदलिन चाहन्छौँ, एक पटक मौका दिनुस् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिएका छन् ।

बुधवार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न आफूले चाहेको बताए । उनले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरू बदलिन चाहेको बताए ।

उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताए ।

उनले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटि र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेन्डाहरू प्रस्तुत गर्न निर्देशन दिए ।

उनले भने ‘यो उपचुनावमा सिङ्गै राजनीतिक वृत्तको ध्यान केन्द्रित छ भने कीर्तिपुरमै छ । त्यसकारण म अहिले धेरै कुरा भन्ने भन्दा पनि यहाँको इतिहास र यहाँका जनताको स्वाभिमानको निम्ति वीरता र विद्रोहको प्रतीकको रुपमा स्थापित कीर्तिपुरको समग्र विकासका निम्ति र एउटा नयाँ विकास, प्रगति र समृद्धिको अभियान सुरु गर्न पनि कीर्तिपुर महत्वपूर्ण थलो हो । त्यसकारण यस पटक हामीले साँच्चै एउटा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नु छ । त्यसकारण मैले के अनुरोध गर्दछु भने हामीले सायद विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटि र कमी पनि गरेका छौँ । हामी आफैँ कार्यकर्ताहरू जुट्ने, छलफल गर्ने, भाषण गर्ने, घर जाने बस्ने जस्तो पनि हाम्रो विगतको कतिपय सन्दर्भको प्रचलन छ । म तपाईँहरू सबैलाई आजदेखि ठूलाठूला सभा, समारोह र आफैँ आफैँ जम्मा भएर भाषण गर्ने काम भन्दा टोलटोलमा, घरघरमा र जनताजनतासँग भेटेर उहाँहरूका कुरा सुन्ने र आफ्ना प्रतिवद्धताहरु उहाँहरूलाई बताउने काममा तपाईँहरूले समय खर्च गर्नुहोला । यस्ता कार्यक्रमहरू धेरै गरेर धेरै भोट आउँदैन । हामी सबै टोलटोलमा गयौँ, घरघरमा गयौँ, प्रत्येक जनतासँग भेटघाट गर्यौँ । उनीहरूका दुःख सुन्यौँ, हाम्रा कमिटमेण्टहरु उनीहरूसँग प्रस्तुत ग¥यौँ भने त्यो अर्थपूर्ण हुन्छ । त्यस कारण म यो पटक तपाईंहरुलाई विशेष रूपले निर्देशित गर्न चाहन्छु, घरघरमा जाने, टोल टोल जाने गर्नुस् । आत्मसमीक्षासहित जानुस् । हामीले यहाँको जनता र देशभरको जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले राम्रोसँग पूरा गर्न सकेनौँ । हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ । हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ । आत्मसमीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोलटोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न जरुरी छ ।’

अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *