द ब्रिटिस कलेजमा ‘करियर फेस्ट– २०२४’ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास
काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरको दिन थापाथलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।
देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधारण र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।
५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरूको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको विभिन्न पक्षहरूको बारेमा जानकारी प्रदान गर्नेछन् । साथै, सो कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।
ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा। प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् । करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’ प्रिन्सिपल म्याकक्रुडेनले भने , ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’
ग्रोथ सेलर्सका संस्थापक, मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने विश्वास व्यक्त गरे । ‘हामी सबै रोजगारी खोजिरहनुभएका व्यक्तिहरूलाई आवेदन दिन र कार्यक्रम दौरान आफ्नो लक्ष्यसँग मेल खाने कम्पनीहरूलाई भेट्नको निमन्त्रणा गर्दछौँ,’ ओझाले भने, ‘यो तपाईँको भविष्यलाई आकार दिन सक्ने सम्बन्धहरू बनाउनको लागि एक विशेष मौका हो । यस मौकाको फाइदा उठाउनको लागि यथाशक्य चाँडो रजिस्टर गरी अवसरको फाइदा उठाउनको लागि अनुरोध गर्दछु ।’
करियर फेस्ट केवल रोजगारी मेला मात्र नभई, एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभी बारेको कार्यशाला, करियर गाइडेन्सका सत्रहरू, र मास्टर क्लासहरूमा पहुँच पाउनेछन् । यस्ता गतिविधिले सहभागीहरूको कार्यक्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ । इच्छुकहरूले ब्रिटिस कलेजको वेभ साइटमा गई रजिस्टर गर्नुपर्नेछ ।