राजतन्त्रका विरुद्धमा हामीले एक्लै आँट गर्‍यौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू ९ महिना सरकारमा रहँदा उदाहरण पेस गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर गरे । उनले नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताए ।

उनले आफ्नो गाउँ, आफैँ बनाऊँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताए । उनले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताए । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन सुरु गरेको दाबी गरे ।

उनले भने ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मूल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदा खेरी (नौ महिना) उदाहरण पेस गरेका छौँ । गफ होइन । काम गरेर देखाएका छौँ, नौ महिना भित्र । सारा देशमा तरंग पैदा गरिदियौँ । आफ्नो गाउँ, आफैँ बनाऊँ भन्नेदेखि लिएर, नौ सको अभियानदेखि लिएर, वृद्ध भत्ताको कुरादेखि लिएर । सुकुम्वासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्नेदेखि लिएर, बिहानीले दिउँसो कस्तो हुन्छ भन्नेकुराको संकेत गर्दछ । गर्नेले छोटो समयमा गर्छ । एक जनाले मलाई भन्नुभयो, हामी मध्यपहाडी राज्यमा हिँडे, त्यहाँको इन्जिनियरलाई सोधेँ, यो कसको पालामा भयो ? उनीहरुले भनेस् माधव नेपाल प्रधानमन्त्री भएको पालामा भएको हो । हाम्राले प्रचार गर्न चाहँदैनन् वा थाहा नै पाउँदैनन् । मान्छे काँग्रेस पार्टीका रहेछन्, तपाईँले यति शानदार बाटो बनाउनु भएछ, त्यहाँ म गाडी लिएर जाँदा त कस्तो आनन्द भयो । अर्को एक जना तराईको हुलाकी राजमार्गमा जानुभएको रहेछ । त्यहाँ सोध्दा उनीहरुले भने, माधव नेपाल प्रधानमन्त्री हुँदा नै भारतको प्रधानमन्त्रीसँग हुलाकी राजमार्गको निम्ति आर्थिक सम्झौता र निर्माणको काम अघि बढ्यो । यो बाटो हेर्नुस् । शानदार बाटो ।’

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरूले नै गरेको दाबी गरे । मुलुकमा परिवर्तन पनि आफूहरूले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरूले नै ल्याएको बताए ।

सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरू पार्टीभित्रै रहेको भन्दै उनीहरूलाई आफूहरूले चासो नदिएको बताए ।

राजतन्त्रका विरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरूले नै आन्दोलन गरेर हटाएको बताए । उनले परिवर्तनलाई साकार बनाउने काममा आफूहरू सफल भएको जिकिर गरे ।

उनले भने ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरू यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । विरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन, घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ । वास्ता गरेनौँ । हामीले भन्यौँ, हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरू थन्किरहेका हुन्छन्, बसिरहन्छन् । बस्नेलाई बस्न देऊ । हिँड्नेलाई जान देऊ । हामी हिँडिरह्यौँ । राजतन्त्रका विरुद्धमा अरु पार्टीले पनि हिम्मत गरेनन् । काँग्रेसको पनि खुट्टा काम्यो । उसले पनि बेबी किङ भन्न थाल्यो । तर हामीले एक्लै आँट गर्‍यौँ । र परिवर्तनलाई साकार पार्‍यौँ ।’

अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताए । भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *